काठमाडौं। बैंकिङ क्षेत्रमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले पुनः निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम तान्ने तयारी गरेको छ। केन्द्रीय बैंकले आज चैत ११ गते बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ संकलन गर्ने जनाएको छ। यसका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रिया सञ्चालन गरिने जानकारी दिइएको छ।
निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँबाट सुरु गरी ५ करोड रुपैयाँका दरले भाग लाग्ने गरी कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा हुने छ भने बहुब्याजदरमा पनि एकभन्दा बढी प्रस्ताव पेश गर्न मिल्ने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
२१ दिन अवधिको उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी वैशाख २ गते गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
हाल कर्जा माग कमजोर रहँदा बैंकिङ प्रणालीमा तरलता अत्यधिक रहेको छ। सोही कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको न्यून ब्याजदरमै केन्द्रीय बैंकमा रकम राख्न बाध्य भएका छन्।
साँवा तथा व्याज भुक्तानी मिति २०८३ बैशाख २ गतेसम्म तोकिएको छ।








