काठमाडौँ । जब जीवनको ठूलो हिस्सा सरकारी वा निजी सेवामा बित्छ तब सेवाको अन्त्यसँगै सुरक्षाको खाँचो पनि बढेर जान्छ । यही यथार्थलाई बुझेर कर्मचारी सञ्चय कोषको स्थापना गरिएको हो । हाल देशका सरकारी, सार्वजनिक र निजी क्षेत्रका कर्मचारीहरू र स्वरोजगारमा संलग्न व्यक्ति समेत कोषको छातामुनि आउन सक्ने वातावरण बनाइएको छ । यो कोष केवल सेवाको अवधि छँदासम्म गरिने बचतमा मात्र सीमित छैन । यसले सामाजिक सुरक्षाका विभिन्न सेवा र लाभमार्फत सदस्यहरूलाई दीर्घकालीन आर्थिक सुरक्षामा जोड्दछ ।

कर्मचारी सञ्चय कोष एक कानुनी, विश्वस्त र गैरराजनीतिक संस्था हो जसले अनिवार्य बचत प्रणाली अन्तर्गत कर्मचारीहरूको मासिक तलबबाट नियमित कटौती गरी भविष्यका लागि सञ्चित गर्छ । २०७६ साल साउन १ गतेपछि स्थायी नियुक्त भएका निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल विशेष सेवाका कर्मचारीहरूका लागि अंशदायी निवृत्तिभरण योजना लागू गरिएको छ ।

यस योजनामा सहभागी हुने कर्मचारीको मासिक तलबवाट ६ प्रतिशत रकम कट्टा गरिन्छ । सोही अनुपातमा नेपाल सरकारको योगदान हुने हुन्छ । प्रत्येक ३ वर्षमा निवृत्तिभरण रकम १० प्रतिशतका दरले बढीमा ५ पटक सम्म बढ्ने व्यवस्था कोषले गरेको छ । २० वर्ष सेवा अवधि पूरा नहुँदै कर्मचारी सेवामा नरहेमा कोषमा जम्मा भएको रकम, ब्याज रकम र मुनाफा रकम कर्मचारीले एकमुष्ठमा भुक्तानी पाउँछन् ।

यस्तै २० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीको व्यक्तिगत खातामा जम्मा भएको रकम निवृत्तिभरण कोष ऐन, २०७५ मा भएको व्यवस्था अनुरूप भुक्तानी पाउनेछन् । ऐनमा कर्मचारीको जम्मा सेवा अवधिलाई अन्तिम महिनाको तलबले गुणा गरी ५० ले भाग गर्दा आउने रकम नै मासिक निवृत्तिभरण हुने भनी व्याख्या गरिएको छ । उदाहरणका लागि यदि कुनै कर्मचारीको सेवा अवधि २५ वर्ष छ र उसले प्राप्त गरेको अन्तिम महिनाको तलब ४० हजार रुपैयाँ छ भने उसले निवृत्तिभरणका रूपमा मासिक रु. २० हजार (हिसाब अनुसार २५ × ४०,००० ÷ ५०) प्राप्त गर्नेछ ।

योजनामा सहभागी कसरी हुने ?

सञ्चय कोषमा सहभागी हुन चरणहरू पूरा गर्नुपर्छ । सबैभन्दा पहिले कर्मचारीले कोषबाट तोकिएको प्रक्रिया पालना गरेर आफ्नो केवाईसी अद्यावधिक गर्नुपर्छ । त्यसपछि कर्मचारीले युसीआईएन नम्बर प्राप्त गर्दछन् । त्यस बारेमा कर्मचारीले सम्बन्धित कार्यालयलाई जानकारी गराउनुपर्छ । त्यसपछि कोषको वेभ इन्ट्री एक्सेस प्राप्त गरी डिजिटल विवरण बुझाउनुपर्ने हुन्छ । अर्काे चरणमा तोकिएको बैंकमा रकम जम्मा गरी अनलाइन रसिद सुरक्षित राख्नुपर्ने हुन्छ । कर्मचारीले योजनामा आबद्ध भएपनि खाताको जानकारी नियमित रूपमा अनलाइनबाट हेर्न सक्छन् । यदि सेवा अवधिका क्रममा कर्मचारी सरुवा भएमा निजले आफू कार्यरत नयाँ कार्यालयमा आफ्नो युसीआईएन नम्बर जानकारी गराउनुपर्छ ।

योगदान संयन्त्र

योगदानकर्ताको मासिक तलबबाट कटौती गरिएको १० प्रतिशत रकम र रोजगारदाताले थपेको त्यति नै रकम खातामा जम्मा गरिने व्यवस्था छ । सञ्चयकोषले कर्मचारीको निक्षेप व्यवस्थापन गर्छ र सम्बन्धित कर्मचारीको अवकाश पछि वा कुनै कारणले कार्यालयबाट अलग भएपछि ब्याज र नाफा फिर्ता गर्छ ।

ब्याज र नाफा योजना

कर्मचारी सञ्चय कोषले संचित कोषमा प्रतिस्पर्धात्मक ब्याज दर प्रदान गर्दछ । उदाहरणका लागि हेर्ने हो भने कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताहरूको ब्याजदर ५.५ प्रतिशत थियो । वर्षको अन्त्यमा थप १ प्रतिशत जोडिएर योगदानकर्ताहरूले जम्मा ६.५ प्रतिशत ब्याज प्राप्त गरेका थिए । कोषमा ब्यादजर मासिक रूपमा गणना गरिए तापनि वार्षिक रूपमा जम्मा गरिन्छ । यसले सदस्यहरूको बचतको वृद्धिलाई बढाउने गरेको छ ।

दुर्घटनामा परेमा कोषको साथ

यदि कुनै सञ्चयकर्ता दुर्घटनामा परी ज्यान गुमाउँछन् वा पूर्ण रूपमा अङ्गभङ्ग हुन्छ भने, कोषले उनका हकवालालाई राहत स्वरूप क्षतिपूर्ति उपलब्ध गराउँछ । सुरुवातमा ५० हजार रुपैयाँ प्रदान गरिँदै आएको यो सुविधा हाल दुई लाख रुपैयाँसम्म र्पुयाइएको छ । जसले अप्ठ्यारो समयमा परिवारलाई केही हदसम्म राहत दिन सक्छ ।

अन्तिम बिदाइका लागि आर्थिक सहयोग

कुनै सञ्चयकर्ताको सेवाकालमै असामयिक निधन भएमा कोषले परिवारलाई काजक्रिया खर्च स्वरूप अनुदान प्रदान गर्छ। सुरुमा १५ हजार रुपैयाँ दिइने यो अनुदान अहिले ४० हजार रुपैयाँ र्पुयाइएको छ, जसले दुःखद घडीमा सानो भए पनि साथ र्पुयाउने विश्वास गरिएको छ।

स्वास्थ्य उपचारमा पनि कोषको टेवा

सञ्चयकर्ता बिरामी परेमा, सामान्य वा गम्भीर रोगको अवस्थामा कोषले उपचार खर्चमा सहयोग गर्छ । तोकिएको अस्पतालमा उपचार गराउँदा सामान्य रोगका लागि १ लाख रुपैयाँसम्म र घातक रोगको हकमा १० लाख रुपैयाँसम्म खर्च फिर्ता (शोधभर्ना) दिने व्यवस्था छ ।

सुत्केरी र शिशु हेरचाहमा सहयोग

महिला सञ्चयकर्ता आफैँ वा सञ्चयकर्ताकी श्रीमती सुत्केरी भएमा शिशु हेरचाहका लागि कोषले विशेष सहायता उपलब्ध गराउँछ । २०७२ सालबाट सुरु भएको यो योजना अन्तर्गत सेवाअवधिभर दुई सन्तानसम्मको जन्म हुँदा १५ हजार रुपैयाँसम्मको सहयोग दिने प्रावधान छ ।

कर्जा र सापटीको समेत सुविधा

कर्मचारी सञ्चय कोषमा आबद्ध हुने कर्मचारीले विभिन्न किसिमका सापटीको सुविधा पनि लिन सक्छन् । कर्मचारीले आफ्नो आवश्यकता अनुसार विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी वा जग्गा खरिद सापटी लिन सक्नेछन् ।

जीवनमा कहिलेकाहीँ आकस्मिक खर्च हुन्छन् । यस्तो बेलामा सञ्चयकर्ताले आफूलो कोषमा जम्मा गरेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन सक्ने सुविधा कोषले प्रदान गरेको छ । सञ्चयकर्ताले नयाँ घर बनाउन, भएको घरमा तला थप्न वा नयाँ घर किन्न चाहेको अवस्थामा पनि कोषबाट सापटी लिन सक्छन् । त्यसका लागि कम्तिमा १ वर्षसम्म नियमित कोषमा रकम सञ्चय गरेका कर्मचारीले १२ देखि १५ वर्षको तलब बराबर अधिकतम १ करोड रुपैयाँसम्म कर्जा लिन सक्छन् ।

सञ्चयकर्ताको पति/पत्नी, छोरा वा छोरीले स्वदेश वा विदेशमा उच्च शिक्षा लिन चाहेमा पनि कोषले कर्जा दिने व्यवस्था छ । कम्तिमा १ वर्ष कट्टी गरिएको र सेवाअवधि अझै कम्तिमा २ वर्ष बाँकी भएका सञ्चयकर्ताका परिवारले घरजग्गा धितो राखेर २५ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा पाउन सक्छन् ।

सामाजिक कार्य, पारिवारिक खर्च वा अन्य व्यक्तिगत आवश्यकताका लागि कोषले घर तथा जग्गाको धितोमा १० वर्षको तलब ननाघ्ने गरी ३० लाख रुपैयाँसम्म सरल कर्जा पनि प्रदान गर्दै आएको छ ।

कोषले घर मर्मत गर्नुपरेमा पनि सहायता प्रदान गर्छ । सञ्यकर्ताले आफ्नो घर मर्मत गर्न अधिकतम ५ वर्षको तलब बराबर २५ लाख रुपैयाँसम्मको सापटी लिन सक्ने व्यवस्था गरिएको छ ।

१ वर्षभन्दा बढी समयदेखि कट्टी गरिरहेका र अझै २ वर्ष सेवा बाँकी रहेका सञ्चयकर्ताले घर वा जग्गा धितो राखी अधिकतम ५० लाख रुपैयाँसम्म जग्गा खरिद सापटी पनि पाउन सक्ने व्यवस्था कोषले गरेको छ ।