काठमाडौँ। खाडी तथा पश्चिम एसियाका मुलुकहरूमा केही समय रोकिएको वैदेशिक रोजगारी पुनः खुला भएसँगै विदेशिने नेपालीको संख्या फेरि बढ्न थालेको छ।
युद्धका कारण ती क्षेत्रका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा बन्द गरिएको थियो, जसले वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट ल्याएको थियो। तर अवस्था सहज बनेपछि श्रम स्वीकृति पुनः खुला गरिएसँगै पछिल्ला दुई दिनमै ५ हजार ७ सय ३० जनाले स्वीकृति लिएका छन्। तीमध्ये ३ हजार ४ सय ८३ जना खाडी तथा पश्चिम एसियाका मुलुकतर्फ गएका छन्।
इजरायल–अमेरिका र इरानबीचको तनावका कारण करिब दुई महिनाअघि श्रम स्वीकृति स्थगन गरिएको थियो। पछि युद्धविराम भएपछि स्थिति केही सामान्य बनेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख ७ गतेदेखि पुनः स्वीकृति खुला गरेको हो।
वैदेशिक रोजगार विभागका अनुसार बुधबार मात्रै २ हजार ९ सय ९६ जनाले श्रम स्वीकृति लिएका थिए। यसमध्ये १ हजार ८ सय ३८ जना ती देशहरूका लागि थिए जहाँ यसअघि स्वीकृति रोकिएको थियो। त्यसैगरी, मंगलबार पहिलो दिन २ हजार ७ सय ३४ जनाले स्वीकृति लिएका थिए, जसमा १ हजार ६ सय ४५ जना ती १२ मुलुकतर्फ गएका थिए।
यसअघि फागुन १७ गते मन्त्रिस्तरीय निर्णयमार्फत साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति रोकिएको थियो। अहिले पुनः खुला भएपछि वैदेशिक रोजगारीतर्फ आकर्षण बढेको देखिएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल ५ लाख ८७ हजार ३ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन्। यसमध्ये ५ लाख १७ हजार ९ सय २९ पुरुष र ६९ हजार ४ सय ३ महिला रहेका छन्। चैत महिनामा मात्रै ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ।







