काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा सात लाख ६० हजार ३९१ जना नेपालीले वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउन १ गतेदेखि जेठ मसान्तसम्मको अवधिमा उक्त संख्यामा नेपालीले श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार जेठ महिनामा मात्र ७४ हजार ४६७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ६ लाख ८२ हजार ५६६ जनाले श्रम स्वीकृति लिएकोमा चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४० प्रतिशतले बढी हो।
विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जाने ७७ हजार ८२५ जना बढीले श्रम स्वीकृति लिएका हुन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिना ५९ हजार ५७५ जना, भदौमा ५७ हजार ४९३ जना, असोजमा ५३ हजार ५२५जना , कात्तिकमा ७० हजार ९९०जना , मंसिरमा ८४ हजार २२६ जना, पुसमा ६७ हजार २५८ जना, माघमा ७२ हजार ४४१जना , फागुनमा ६८ हजार ९६३ जना , चैतमा ७३ हजार ४०३ जना , २०८२ वैशाखमा ७८ हजार ५० जना र जेठ महिनामा ७४ हजार ४४६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो ११ महिनामा औसतमा प्रत्येक महिना ६९ हजार १२६ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जाने विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । रोजगारी खोज्न विदेश जान चाहनेको संख्या दैनिक औसतमा दुई हजार २८३ जना भन्दा बढी रहेको विभागको तथ्यांकले देखाएको छ ।