काठमाडौं । गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म आइपुग्दा सानिमा बैंकको लाभांश वितरण क्षमता २०.४७ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश क्षमता भएका कम्पनीमा सानिमा दोस्रो स्थानमा छ । बैंकले सन्तुलित नीति, वित्तीय सुधार र निरन्तर नाफा वृद्धिद्वारा उक्त अवस्थामा पुग्न सफल भएको छ ।

सानिमा बैंकले आफ्नो लाभांश वितरण क्षमतामा सुधार ल्याउनका लागि विभिन्न रणनीतिहरु अपनाएको छ । आवश्यकता अनुसारको सन्तुलित तबरले पूँजी वृद्धि, बोनस र नगद लाभांश दुवैलाई प्राथमिकता दिएर प्रतिफल वितरण र व्यापारमा नियमित वृद्धिलगायत पछिल्लो समय ब्याज आम्दानीमा देखिएको सुधारले गर्दा पनि यसबैंकको लाभांश क्षमतामा सुधार आएको हो ।

बैंकले आफ्नो नाफा स्थिर बनाउँदै व्यापारमा नियमित वृद्धि सुनिश्चित गरेको छ । अरु बैंकहरुको तुलनामा सानिमा बैंकको प्रदर्शन विशेष छ । अन्य बैंकहरुले आक्रामक तरिकाले पूँजी वृद्धि त गरे तर त्यसअनुसार व्यापार विस्तार गर्न सकेनन् ।

त्यसकारण अरु केही बैंकहरुको लाभांश दर घट्दै गएको छ । तर सानिमाले आफ्नो लाभांश दरमा स्थायित्व कायम राख्न सफल भएको छ । विगतका वर्षहरुमा बैंकले शेयरधनीलाई दोहोरो अंकको प्रतिफल उपलब्ध गराएको छ र यसवर्ष पनि यस्तै प्रवृत्ति कायम रहने अपेक्षा गरिएको छ ।

यता, वित्तीय सूचकाङ्कको दृष्टिले पनि सानिमा बैंक सबल देखिन्छ । गत वर्षको वित्तीय रिपोर्ट अनुसार यस बैंकको प्रतिशेयर आम्दानी १८.९३ रुपैयाँ पुगेको छ । यसैगरी, बैंकको एनपीएल ३.०१ प्रतिशत र आरओई ११.७३ प्रतिशत रहेको छ । यी सूचकाङ्कहरुले बैंकको जोखिम व्यवस्थापन, तरलता र लाभांश वितरण क्षमताको उच्च स्तर कायम भएको देखाउँछन् ।

चुक्ता पूँजी, जगेडा कोष र सञ्चित नाफा

२०८१-८२ को असारसम्म सानिमा बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ बराबर रहेको छ । आर्थिक वर्ष २०७९-८० मा यसको पूँजी १२ अर्ब ४६ करोड थियो । ५ वर्ष अगाडि बैंकको पूँजी ९ अर्ब ६८ करोड १५ लाख रहेको देखिएको छ । बैंकले सन्तुलित तरिकाले पूँजी बढाएको छ ।

यता, जगेडा कोषमा पनि रकम बढेको छ । ५ वर्ष अगाडि ३ अर्ब ५० करोड रहेको जगेडा कोषमा गत वर्षसम्म आइपुग्दा ६ अर्ब ५६ करोड कायम भएको छ । सञ्चित नाफामा २ अर्ब ७८ करोड रुपैयाँ जम्मा रहेको छ । यो गएका वर्षहरुको तलनामा हालसम्म कै उच्च हो । उक्त सञ्चित नाफाबाट बैंकले २० प्रतिशतसम्म लाभांश दिन सक्छ ।

निक्षेप संकलन र कर्जा प्रवाह

सानिमा बैंकले गत असारसम्म २ खर्ब २३ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ७६ अर्ब कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले १ खर्ब ९७ अर्ब निक्षेप संकलन गरेको थियो । भने १ खर्ब ५९ अर्ब कर्जा प्रवाज भएको थियो । ५ वर्षको अवधिमा निक्षेप संकलन करिब १ खर्ब रुपैयाँले बढेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म सानिमा बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई कुल ७ अर्ब १ करोड ४१ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस किसिमको कर्जा प्रवाह ५ अर्ब ५२ करोड रुपैयाँ मात्र रहेको थियो। यस आधारमा सानिमाले अन्तरबैंक बजारमा गरेको कर्जा प्रवाह एक वर्षको अवधिमा करिब १ अर्ब ५० करोड रुपैयाँले वृद्धि भएको देखिन्छ। अन्तरबैंक कर्जा प्रायः बैंक तथा वित्तीय संस्थाबीचको अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग गरिन्छ।

ब्याज आम्दानी र नाफा

सानिमाले गत वर्ष २ अर्ब ५७ करोड नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा धेरै हो । बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । जसले गर्दा नाफामा सुधार आएको देखिन्छ । नाफामा वृद्धि आउँदा कम्पनीको लाभांश क्षमता पनि बढेको छ भने बैंक थप मजबुत बन्दै गएको बुझ्न सकिन्छ ।

लाभांश इतिहास

सानिमा बैंकले २०६७-६८ यता लगातार शेयरधनीलाई प्रतिफल दिएको छ । बैंकले अधिकांश वर्षहरुमा दोहोरो अंकमा लाभांश दिएको देखिन्छ । यस वर्षपनि उक्त सम्भावना जीवित नै छ । सानिमाले पछिल्ला वर्षहरुला नगद र बोनस शेयर मिलाएर वितरण गरेको छ ।

सानिमा बैंक गैरआवासीय नेपाली व्यवसायीहरुको समूहद्वारा प्रवर्द्धन गरिएको हो । बैंकले २००४ सालमा राष्ट्रियस्तरको विकास बैंकका रुपमा आफ्नो सञ्चालन सुरु गरेको थियो । २०१२ फेब्रुअरीदेखि सानिमा बैंक “क” वर्गको वाणिज्य बैंकका रुपान्तरण भई सञ्चालन हुँदै आएको छ ।

सानिमा बैंकले आफ्ना ग्राहकलाई व्यापक वित्तीय समाधानहरु उपलब्ध गराउने र बैंकको जोखिम सहनशीलता अनुसार लाभांशमा स्वस्थ वृद्धिलाई हासिल गर्ने प्रतिबद्धता लिएको जनाएको छ ।

उच्चतम नैतिक मापदण्ड, व्यावसायिक इमानदारी, उत्कृष्ट संस्थागत सुशासन र नियामक पालना कायम गर्न समर्पित रहेको बैंकको भनाई छ । त्यसैले, सानिमा बैंकलाई नेपाली बैंकिङ क्षेत्रमा एक सबल, भरपर्दो र स्थिर स्तम्भका रुपमा हेरिन्छ ।

सानिमा बैंकले ७ वटै प्रदेशका १०६ वटा शाखा र २८ वटा विस्तार काउन्टरमार्फत आफ्ना संस्थागत तथा खुद्रा ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ उत्पादन तथा वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।