काठमाडौं – नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली (डिजिटल माध्यम) मार्फत गर्ने व्यवस्था लागू गर्न सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा मात्र जम्मा हुने गरी व्यवस्थापन गर्न आग्रह गरेको हो।

यस निर्देशनको उद्देश्य सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रचलित कानून र बीमक–बीमालेख अन्तर्गतको दाबी भुक्तानी प्रक्रियालाई थप पारदर्शी र सुरक्षित बनाउनु रहेको प्राधिकरणले जनाएको छ। सरकारी निकायहरूले पनि हालसालै सबै प्रकारका भुक्तानी बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा यो कदम उठाइएको हो।

यसअघि, बीमा कम्पनीहरूले आफ्ना स्थायी, अस्थायी, करार वा ज्यालादारी कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला पनि अनिवार्य रूपमा बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था लागू गरेको थियो। नयाँ निर्देशनले दाबी भुक्तानी लगायत सम्पूर्ण भुक्तानी प्रक्रियालाई डिजिटल माध्यममा ल्याउने लक्ष्य राखेको  प्राधिकरणले जनाएको छ ।