काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ। पुष महिनाको तथ्यांक अनुसार, हाल सञ्चालमा रहेका २० वटै वाणिज्य बैंकको औसत आधार दर घटेर ५.४५ प्रतिशतमा कायम भएको छ। यो मंसिर महिनाको औसत ५.५७ प्रतिशतको तुलनामा ०.१२ प्रतिशतले कम हो।

हाल बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ, तर आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून हुँदा बैंकहरू निक्षेपको ब्याजदर घटाउन बाध्य भएका छन्। यसको प्रत्यक्ष असर आधार दरमा परेको देखिन्छ। बैंकहरूले अहिले कर्जाको प्रकृतिअनुसार आधार दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण प्रवाह गरिरहेका छन्।

पुष महिनाको आधार दर अनुसार, सस्तो ब्याजदरमा ऋण लिन चाहने ग्राहकका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंक बढी आकर्षक देखिएका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम आधार दर ४.२७ प्रतिशतमा कर्जा प्रवाह गरिरहेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक ४.४८ प्रतिशत, एभरेष्ट बैंक ४.७७ प्रतिशत, नेपाल बैंक ५.१३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५.१९ प्रतिशत, नबिल बैंक ५.२३ प्रतिशत र ग्लोबल आइएमई बैंक ५.२४ प्रतिशत आधार दरमा कर्जा प्रदान गर्दै आएका छन्।

यद्यपि, सबैभन्दा उच्च आधार दर एनआईसी एशिया बैंक (६.५२%) र प्राइम बैंक (५.९४%) मा छ, जसबाट कर्जा लिँदा ग्राहकले तुलनात्मक रूपमा बढी ब्याज तिर्नुपर्ने हुन्छ। कर्जा लिँदा ब्याजदर मात्रै होइन, कर्जाको प्रकार, बैंकको सेवा गुणस्तर, र अन्य शुल्कहरू पनि विचार गर्न आवश्यक रहेको र यसले ऋणदातालाई दीर्घकालीन रूपमा वित्तीय बोझ कम गर्न सहयोग पुर्‍याउने जानकारहरुको भनाई छ।