काठमाडौँ। सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई आर्थिक सहयोग सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित विशेष सापटीसम्बन्धी नीतिमा संशोधन गरेको छ। कोषले योगदानकर्ता सापटी निर्देशिकामा पहिलो पटक संशोधन गर्दै अब एक वर्ष नियमित योगदान गरेपछि नै विशेष सापटी लिन सकिने व्यवस्था लागू गरेको हो।
संशोधित प्रावधानअनुसार योगदानकर्ताले कम्तीमा १० हजार रुपैयाँदेखि आफ्नो अवकाश कोषमा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउनेछन्। यस सापटीमा कोषले ५.२ प्रतिशत ब्याजदर तोकेको छ।
यसअघि विशेष सापटी लिन कम्तीमा ३६ महिना लगातार योगदान गर्नुपर्ने व्यवस्था थियो। लामो समय कुर्नुपर्ने कारणले धेरै योगदानकर्ताले सापटी सुविधा प्रयोग गर्न नपाएको गुनासो बढेपछि सो समयावधि घटाइएको कोषले जनाएको छ।
संशोधनमार्फत अन्य सापटी सुविधामा पनि लचिलोपन थपिएको छ। नयाँ व्यवस्थाअनुसार विशेष सापटी लिन १२ महिना योगदान आवश्यक हुनेछ भने घर, शिक्षा तथा सामाजिक कार्यसम्बन्धी सापटीका लागि १८ महिना नियमित योगदान गरेपछि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।







