काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीका नाफा, बिक्री आम्दानी, अन्य आम्दानी र वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको खुद नाफा ५३ करोड ८३ लाख ५० हजार रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको २४ करोड १४ लाख ५ हजार रुपैयाँको तुलनामा १२३ प्रतिशतले वृद्धि भएको हो। मुख्यतया बिक्री आम्दानीमा वृद्धी र उत्पादन खर्च व्यवस्थापनमा सुधारका कारण नाफा वृद्धि भएको देखिएको छ।

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८ करोड २५ लाख रुपैयाँको बिक्री आम्दानी गरेको छ। यो गत वर्षको सोही अवधिको ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँको तुलनामा २.५२ प्रतिशतले बढी हो। बिक्री आम्दानीमा वृद्धि मुख्यतया आन्तरिक बजारमा विक्री विस्तार र निर्माण सामग्रीको बढ्दो मागले सम्भव भएको देखिन्छ ।

कम्पनीको अन्य आम्दानी पनि सुधार देखिएको छ। गत वर्षको सोही अवधिमा ७ करोड १८ लाख रुपैयाँ रहेको अन्य आम्दानी चालु वर्षमा बढेर ११ करोड ९७ लाख रुपैयाँ पुगेको छ। यसमा ब्याज, लगानी र अन्य गैर-प्रमुख आम्दानीले योगदान पुगेको कम्पनीले जनाएको छ। यस अवधिमा कम्पनीको कुल खर्च ५२ करोड ६७ लाख रुपैयाँ रहेको छ। यो गत वर्षको सोही अवधिको ४१ करोड ७६ लाख रुपैयाँ भन्दा बढी हो।

कम्पनीको वित्तीय स्थिति मजबुत रहेको देखिन्छ। चुक्ता पुँजी ५ अर्ब २२ करोड, रिजर्भमा ३३ करोड ६८ लाख, कुल चालु सम्पत्ति ५ अर्ब ४७ करोड र कुल चालु दायित्व ५ अर्ब ७ करोड रहेको छ।

कम्पनीको शेयरधनीका लागि वित्तीय लाभ सूचक 

प्रतिशेयर आम्दानी (EPS): २०.६१ रुपैयाँ

प्रतिशेयर नेटवर्थ: १८८.९२ रुपैयाँ

प्रतिशेयर कुल सम्पत्ति मूल्य: २९९.४३ रुपैयाँ