काठमाडौं। काठमाडौं–३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री बालेन्द्र शाह नै हुने विषयमा कुनै अन्योल नराख्न आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सबै नेताले पार्टीको आधिकारिक धारणा अनुसार मात्रै बोल्नुपर्ने बताए।
पत्रकारहरूले पार्टीका उपसभापति डीपी अर्यालले केही दिनअघि बालेनलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमतिबारे आफूलाई जानकारी नभएको बताएका विषयमा प्रश्न उठाएका थिए। त्यसबारे प्रतिक्रिया दिँदै सांसद पाण्डेले यस्तो अभिव्यक्ति आएको भए त्यो जिम्मेवार नभएको टिप्पणी गरे। उनले भने, यदि कसैले गैरजिम्मेवार ढंगले बोलेको हो भने त्यस्तो कुरा जनताले स्वीकार नगर्ने बताए।
पाण्डेका अनुसार रास्वपा बोलेका प्रतिबद्धता कार्यान्वयन गर्ने पार्टी हो। उनले पार्टीभित्रका कुनै पनि तहका नेताले व्यक्तिगत धारणा दिएर भ्रम सिर्जना गर्न नहुने स्पष्ट पारे।
उनले थपे, “राष्ट्रिय स्वतन्त्र पार्टीले जे घोषणा गर्छ, त्यसलाई व्यवहारमा उतार्छ। त्यसैले पार्टीका नेताले आफ्नो मनपरी ढंगले दायाँबायाँ अभिव्यक्ति दिन मिल्दैन।”
साथै उनले पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह नै भएको पुनः स्पष्ट पार्दै यस विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरे।
मिडियासँग बोल्दा सबै नेताले संयमता अपनाउनुपर्ने र पार्टीको आधिकारिक लाइनभन्दा बाहिर व्यक्तिगत धारणा नदिन पनि उनले सुझाव दिएका छन्।







