काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह सर्वसम्मत चयन भएपछि अब उनलाई प्रधानमन्त्री बनाउने प्रक्रिया अगाडि बढ्ने भएको छ।

सामान्यतया कुनै दलको स्पष्ट बहुमत नहुँदा राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने प्रचलन रहन्छ। तर यसपटक प्रतिनिधिसभामा रास्वपाको दुई तिहाइ नजिकको उपस्थिति भएकाले यस्तो आह्वान आवश्यक नपरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

उनका अनुसार अब रास्वपाले आफ्नो संसदीय दलको नेता चयन भएको जानकारी औपचारिक पत्रमार्फत राष्ट्रपति कार्यालयमा पठाएपछि सोही आधारमा दलका नेता स्वतः प्रधानमन्त्री नियुक्त हुनेछन्। पत्र कहिले पठाउने भन्ने कुरा भने दलकै निर्णयमा निर्भर रहने उनले बताए।

राष्ट्रपति कार्यालयमा पठाइने उक्त पत्रमा नेपालको संविधान २०७२ को धारा ७६(१) अनुसार संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न अनुरोध गरिएको उल्लेख गर्नुपर्ने हुन्छ। यस्तो पत्र प्राप्त भएसँगै राष्ट्रपतिले नियुक्ति प्रक्रिया अघि बढाउने व्यवस्था रहेको छ।

यसअघि नै भोलि (शुक्रबार) दिउँसो १२ बजेपछि शीतल निवासस्थित राष्ट्रपति भवनमा नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणका लागि तयारी सुरु भइसकेको छ। कार्यक्रममा सहभागी हुन निम्तालुहरूलाई समयमै उपस्थित हुन सूचित गरिएको स्रोतले जनाएको छ।

शपथ समारोहमा संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, उच्च सरकारी अधिकारी, विभिन्न दलका शीर्ष नेताहरू तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहने परम्परा छ। साथै, नवनियुक्त प्रधानमन्त्री र मन्त्रीका केही आफन्त तथा शुभेच्छुकलाई पनि कार्यक्रममा सहभागी हुन अवसर दिइनेछ।