काठमाडौं : मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। रामचन्द्र पौडेलले बालेन्द्र शाह लाई आज दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको जनाइएको छ।

शपथ ग्रहणअघि नेता शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार बहुमतको एकल सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सञ्चालन हुनेछ। सो अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीपरिषद्का सदस्यहरूको पनि शपथ गराइने तयारी छ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय बहुमतसहित १८२ सिट जित्दै सरकार गठनको मार्ग प्रशस्त गरेको थियो। सोही दलले बिहीबार मात्रै शाहलाई संसदीय दलको नेता चयन गरेको हो। निर्वाचनमा बालेन्द्र शाह झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका थिए।

यसअघि बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्। यससँगै आजदेखि नयाँ सरकार औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ।