काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ५ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले योग्य जोकोही व्यक्ति, कम्पनी तथा संघ–संस्थाले खरिद गर्न सक्ने गरी उक्त सेयर सार्वजनिक रूपमा बिक्रीमा ल्याएको हो।

कम्पनीका अनुसार सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४० रुपैयाँ तोकिएको छ। इच्छुक खरिदकर्ताले बोलपत्र पेश गर्दा सम्पूर्ण ५ लाख कित्ताकै लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

बोलपत्र पेश गर्ने अवधि आज चैत १८ गतेदेखि चैत २५ गतेसम्म निर्धारण गरिएको छ। बोलपत्र फाराम काठमाडौंको बालुवाटारस्थित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडबाट प्राप्त गर्न तथा सोही स्थानमा बुझाउन सकिनेछ।

साथै, प्राप्त बोलपत्रहरू चैत २६ गते बिहान ११ बजे बिक्री प्रबन्धक रिलायबल क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ।