काठमाडौं। काठमाडौं महानगरपालिकाले ठमेलस्थित त्रिदेवी मन्दिर क्षेत्र वरपर सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन थालेको छ।
महानगरको टोलीले सोमबार सुरक्षाकर्मी र डोजरको सहयोगमा मन्दिर आसपास लामो समयदेखि बनाइएका अवैध संरचनाहरू हटाएको हो। यी संरचनाले मन्दिरको खुला वातावरण र पैदल आवागमनमा अवरोध पुर्याउँदै आएको बताइएको छ ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको त्रिदेवी मन्दिर परिसरमा गरिएको यो कारबाहीपछि क्षेत्र अझ खुला र व्यवस्थित बनेको छ।
सम्पदा संरक्षणमा चासो राख्नेहरूले महानगरको यो कदम सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार पुरातात्विक तथा धार्मिक स्थलहरूको संरक्षण र व्यवस्थापनका लागि यस्ता अभियान आवश्यक छन्।







