काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आफ्ना कर्मचारीहरूको उपस्थिती र अनुशासन सुनिश्चित गर्न कडा कदम चाल्ने भएको छ। अस्पतालले सेवा प्रवाह चुस्त राख्न र कर्मचारीहरूको जिम्मेवारी सुनिश्चित गर्न १४ बुँदे निर्देशन जारी गरेको छ, जसअनुसार नियम उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिने व्यवस्था छ।

निर्देशनअनुसार, बिहान ९ः३० बजेपछि प्रवेश गर्ने र साढे ४ बजेभन्दा पहिले बाहिर जाने कर्मचारीलाई आधा दिनको विदा काटिनेछ। साथै कार्यालय समय ९ देखि ५ बजेसम्म ढिलो आउने वा बिना सूचना अनुपस्थित रहने कर्मचारीको विवरण मन्त्रालयसम्म पठाइने र नियम अनुसार कारबाही हुने स्पष्ट गरिएको छ।

अस्पतालले कर्मचारी र चिकित्सकहरूलाई कार्यालय समयमा अस्पताल परिसरमै रहन र अन्यत्र काम नगर्न निर्देशन दिएको छ। चिकित्सक र कर्मचारीहरूले तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित रहनुपर्ने र बिरामीसँग व्यवहारमा ‘मुस्कानसहितको सेवा’ अपनाउनुपर्ने समेत उल्लेख गरिएको छ। रुखो व्यवहार गर्ने वा सेवा गुणस्तरमा सुधार नगर्ने कर्मचारीमाथि कारबाही गरिने चेतावनी पनि दिइएको छ।

चिकित्सकहरूले बिरामीको पुर्जा, डिस्चार्ज समरी र रिपोर्टहरूमा आफ्नो नाम, नेपाल मेडिकल काउन्सिल नम्बर र हस्ताक्षर प्रष्ट लेख्नुपर्ने छ। साथै अस्पतालभित्र एप्रोन र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने निर्देशन जारी गरिएको छ।