काठमाडाैं । वीर अस्पतालले चार करोडका सामान लिलाम गर्ने भएकाे छ । अस्पतालले २७ वर्षयता स्टोरमा थन्किएर बसेका थोत्रा तथा बेवारिसे उपकरण लिलाम प्रक्रिया अघि बढाएको हाे ।

वीर अस्पतालले ०५३ देखिका थोत्रा बेड, बिग्रिएका उपकरण, फर्निचरलगायत सामग्रीको मूल्यांकन गरी लिलाम प्रक्रिया अघि बढाइएको छ ।

हाल अस्पतालको स्टोर तथा पछाडिको प्रांगण कवाडी सामानले भरिएको छ । सो सामान लिलाम गर्न अस्पतालले ११ भदौमा बोलपत्र आह्वानसम्बन्धी सूचना जारी गरेको थियाे ।

अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूका अनुसार काठमाडौं महानगरपालिका, वीर अस्पतालको लिलाम समितिलगायतको बैठक बसेर लामो समयदेखि थन्किएका सामान लिलामका लागि सूचना जारी गरिएको हो ।

लिलाम गर्नुपर्ने सामानको न्यूनतम मूल्य भ्याटबाहेक चार करोड तीन लाख ७४ हजार चार सय नौ रुपैयाँ कायम गरिएको छ । इच्छुक बोलपत्रदाताले ३१ भदौसम्म सामान खरिदका लागि निवेदन दिनुपर्ने पनेरूले बताए । सामानहरूको बजार दररेटअनुसार मूल्यांकन गरी सूचना आह्वान गरिएको उनको भनाइ छ ।