काठमाडौं । उद्योगी–व्यवसायीमाथि भइरहेको धरपकड र पक्राउ प्रक्रियाले निजी क्षेत्रको मनोबल घटाएको भन्दै निजी क्षेत्रका प्रमुख छाता संगठनहरूले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै हालको अवस्थाप्रति आपत्ति जनाएका हुन् । बिहीबार व्यवसायी शेखर खोल्छा पक्राउ परेपछि निजी क्षेत्रले सामूहिक रूपमा धारणा सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा नयाँ सरकार गठनपछि लगानीमैत्री वातावरण बन्ने अपेक्षा भए पनि उल्टै उद्यमी–व्यवसायीमाथि गिरफ्तारी र अनुसन्धानका नाममा कारबाही तीव्र हुँदा व्यवसायिक वातावरण कमजोर भएको उल्लेख गरिएको छ ।

निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको भन्दै यस्तो क्षेत्र नै असुरक्षित महसुस गर्ने अवस्था आउनु गम्भीर विषय भएको बताइएको छ । यसले आर्थिक गतिविधि, रोजगारी, राजस्व संकलन तथा पूर्वाधार विकासमा प्रत्यक्ष असर पार्ने चेतावनी पनि दिइएको छ ।

छाता संगठनहरूले नियामक निकायका प्रतिवेदनका आधारमै उद्योगी–व्यवसायी पक्राउ गर्ने अभ्यासप्रति प्रश्न उठाउँदै आर्थिक कसुरका विषयमा पहिले सुनुवाइ गर्ने र प्रमाणित भएपछि मात्र थुनछेक गर्ने नीति अपनाउन सरकारसँग आग्रह गरेका छन् ।

अनुसन्धान प्रक्रियामा सघाउन आफूहरू तयार रहेको र आवश्यक परे प्रहरी समक्ष उपस्थित हुने भनिरहँदा पनि पक्राउ गरिनु व्यवसायी समुदायका लागि चिन्ताजनक भएको उनीहरूको भनाइ छ ।

यस्ता कदमले व्यक्तिगत व्यवसायी मात्र नभई लाखौं रोजगारी, आपूर्ति शृंखला, बैंकिङ प्रणाली र समग्र आर्थिक संरचनामै असर पार्ने जोखिम रहेको भन्दै निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा निजी क्षेत्रको कुनै विमति छैन । नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको स्मरण गराउँदै, समग्र निजी क्षेत्र यसबारे सरकारलाई गम्भीर हुन आग्रह गर्दछ ।’

साथै, सरकारले निजी क्षेत्रको भूमिकालाई स्वीकार गर्दै नीति तथा कानुन निर्माणमा संलग्न गराउन थालेको विषयलाई सकारात्मक रूपमा लिएको उल्लेख गरिएको छ । तर निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति बनाउने तयारी भइरहेका बेला यस्ता धरपकडका घटनाले थप अनिश्चितता सिर्जना गरेको उनीहरूको भनाइ छ।