काठमाडौँ। आँखु खोला जलविद्युृत कम्पनीको नाफा १३.८२ प्रतिशतले बढेको छ। कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ३ करोड ८३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको हो। अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी पनि वृद्धि भएको छ। कम्पनीले बिद्युत बिक्रीमार्फत १७ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो आवको तुलनामा ३१.९४ प्रतिशतले बढी हो।

कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ६४ लाख १३ हजार रुपैयाँ र साधारण तथा वितरण खर्च ३ करोड रुपैयाँ रहेको छ। यो अवधिमा कम्पनीको वित्त आम्दानी घटेको छ। अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ करोड ११ लाख रुपैयाँबराबर वित्त आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने ८९ लाख ६८ हजार मात्रै वित्त आम्दानी गरेको छ ।

यसैबीच कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा ६ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च घटेर ४ करोड ६७ लाखमा सीमित बनेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति ३६ करोड १५ लाख र कुल चालु दायित्व १२ करोड २७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १५७ गुणा र तरलता अनुपात २.९५ प्रतिशत कायम रहेको छ।