काठमाडौँ। चालु आवको ९ महिनाको अवधिमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले २ करोड ७१ लाख रुपैयाँबराबर मात्र खुद नाफा कमाएको थियो ।

गुराँस लघुवित्तको खुद ब्याज आम्दानी पनि ४९.५७ प्रतिशतले वृद्धि भएको छ । संस्थाले तेस्रो त्रैमाससम्ममा १३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ८ करोड ९२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाले ५ करोड ५३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ९ लाख २२ हजार रुपैयाँ रहेको छ। संस्थाको रिजर्भको आकार ३४.३७ प्रतिशतले बढेर ५ करोड ९१ लाख रुपैयाँ पुगेको छ । रिटेन्ट अर्निङ पनि २ करोड ५१ लाखबाट बढेर ३ करोड २१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ५८ करोड ४७ लाख र कर्जा प्रवाह २ अर्ब १७ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड २१ लाख रहेको छ ।

संस्थाको लाभांश क्षमता ३०.३९ प्रतिशत रहेको छ। संस्थाको खराब कर्जा अनुपात केही बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.०१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.४१ प्रतिशत पुगेको छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४०.६२ रुपैयाँ,प्रतिसयर नेटवर्थ १६८.९१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७८७.८९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४४.३१ गुणा र तरलता अनुपात ८.०३ प्रतिशत रहेको छ।