काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई केवल नाफामुखी दृष्टिले हेर्ने प्रवृत्ति बदल्न आवश्यक रहेको बताएका छन्।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४ औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले मुलुकको आर्थिक प्रगतिमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रकै छ, साथै रोजगारी सिर्जना र पूर्वाधार विस्तारमा पनि यसले ठूलो योगदान दिइरहेको छ।
उनले निजी क्षेत्रलाई कमजोर रूपमा नभई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिनुपर्नेमा जोड दिए।
ढकालले सुदूरपश्चिम प्रदेश पर्यटनका दृष्टिले निकै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै आफूले त्यहाँको पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्ने योजना अघि बढाएको जानकारी दिए। उनका अनुसार उक्त क्षेत्रको विकासले राष्ट्रिय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ।
उनले बडिमालिका र रामारोशन जस्ता धार्मिक तथा प्राकृतिक स्थलहरूको प्रभावकारी विकास र प्रचारप्रसार गर्न सके रोजगारी वृद्धि र आर्थिक गतिविधि विस्तार हुने बताए। साथै, सुदूरपश्चिम भारतका औद्योगिक केन्द्रहरूसँग नजिक रहेकाले त्यहाँबाट आर्थिक लाभ लिन सकिने सम्भावना रहेको उनको भनाइ थियो।
अध्यक्ष ढकालले निजी क्षेत्रले भोगिरहेका समस्याहरू समाधानका लागि सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै सहकार्य र इमानदार प्रयासमार्फत मात्रै अर्थतन्त्रलाई दिगो रूपमा अघि बढाउन सकिने धारणा व्यक्त गरे।







