काठमाडौं। भारत विश्वका ठूलो अर्थतन्त्र भएको देशको सूचीको छैटौं स्थानमा झरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ( ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी)का आधारमा भारत चौथोबाट छैटौं नम्बरमा झरेको हो ।
अहिले ठूलो अर्थतन्त्रको सूचीमा अमेरिका पहिलो स्थानमा कायमै छ। द इकोनोमिक टाइम्सका अनुसार अमेरिकी अर्थतन्त्र झन्डै ३१० खर्ब डलरको छ।
दोस्रो स्थानमा रहेको चीनको अर्थतन्त्र २०० खर्ब डलरभन्दा बढी छ । तेस्रोमा जर्मनी, चौथोमा जापान र पाँचौँमा बेलायत छन् ।
सन् २०२९ सम्ममा भारतले जापानलाई उछिनेर तेस्रो नम्बरमा आउने अनुमान थियो। तर त्यसअघि नै जापानलाई पछि पार्दै जर्मनी तेस्रो स्थानमा आएको हो।
आईएमएफका अनुसार अमेरिकी डलरको तुलनामा भारु कमजोर भएकोले भारतको जीडीपीमा असर परेको हो।
यस्तै भारतले जीडीपीको आधार वर्ष संशोधन गरेकाले पनि गिरावट देखिएको छ। आईएमएफले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर ३ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ ।
भविष्यमा कच्चा तेलको मूल्य घटेमा र विदेशी लगानी बढेमा भारु बलियो हुन सक्ने अपेक्षा गरिएको छ, जसले भारतको विश्व र्याङकिङ पुनः सुधार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।
अर्कोतर्फ, उपभोक्ता खर्च, पूर्वाधार विकास र सेवा क्षेत्रको विस्तारका कारण भारतको आर्थिक आधार अझै मजबुत रहेको विश्लेषण गरिएको छ। धेरै अन्तर्राष्ट्रिय अनुमानहरूका अनुसार भारत सन् २०२७ सम्म पुनः चौथो स्थानमा पुग्ने र सन् २०३० को दशकको सुरुवातसम्म तेस्रो ठूलो अर्थतन्त्र बन्ने सम्भावना रहेको छ।







