काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना क्षेत्रमा आइतबार साँझ आएको तीव्र हावाहुरीसँगै परेको असिनापानीले ७४ वटा सवारी साधनमा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ३५ मिनेटसम्म चलेको प्रतिकूल मौसमका कारण सडक किनारमा पार्किङ गरी राखिएका सवारी साधनमा असर परेको हो।
प्रहरीका सूचना अधिकारी डीएसपी रविन्द्र खनालका अनुसार ५७ वटा कार, १५ वटा हाइस माइक्रोबस, एक मोटरसाइकल र एक ट्रकमा क्षति पुगेको छ।
प्रहरीले यस घटनामा कुनै मानवीय क्षति नभएको जनाएको छ। क्षतिग्रस्त सबै सवारी साधन सडक आसपास रोकिएको अवस्थामा रहेका थिए।
इच्छाकामना गाउँपालिका– ३, ४ र ५ क्षेत्रअन्तर्गत पर्ने पृथ्वी राजमार्ग खण्डमा सबैभन्दा बढी सवारी साधन प्रभावित भएको प्रहरीले जानकारी दिएको छ।
साँझ ४ बजेर ५५ मिनेटतिर सुरु भएको हावाहुरी र असिनापानी करिब ५ बजेर ३० मिनेटसम्म जारी रहेको थियो।







