काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमक कम्पनीहरूको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई व्यवस्थित बनाउन, स्थिर सम्पत्ति खरिद तथा बिक्री सम्बन्धी निर्देशिका, २०८२ लागू गरेको छ। यससँगै अघिल्लो निर्देशिका खारेज गरिएको छ। नयाँ व्यवस्था पारदर्शिता, मितव्ययिता, प्रविधिमैत्री अभ्यास र संस्थागत सुशासन मजबुत बनाउने लक्ष्यका साथ ल्याइएको हो।
निर्देशिकाअनुसार बीमकले घरजग्गा खरिद वा निर्माण अघि आवश्यक कागजात संकलन गर्नुपर्नेछ। यसमा जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, निर्माण सम्पन्न प्रमाणपत्र वा हस्तान्तरण सम्बन्धी स्व–घोषणा, चारकिल्ला प्रमाणित विवरण, निरीक्षण प्रतिवेदन तथा स्वतन्त्र मूल्याङ्कन प्रतिवेदन अनिवार्य गरिएको छ।
साथै, स्थानीय तहबाट प्राप्त चलनचल्ती मूल्य सिफारिस, कानुनी स्वीकृति (लिगल पर्मिट) र कम्पनीको पूँजी तथा तरलताको अवस्था पर्याप्त रहेको प्रतिवेदन पनि पेश गर्नुपर्ने व्यवस्था छ।
नयाँ निर्देशिकाको प्रमुख विशेषता डिजिटल रिपोर्टिङ प्रणाली हो। अब बीमकहरूले आफ्ना सबै स्थिर सम्पत्तिको विवरण, फोटो र जीआईएस लोकेसनसहित प्राधिकरणको डिजिटल ड्यासबोर्डमा अद्यावधिक गर्नुपर्नेछ, जसबाट नियामकले प्रत्यक्ष अनुगमन गर्न सक्नेछ।
व्यावसायिक प्रयोजनका लागि घरजग्गा खरिद गर्न थप सर्तहरू राखिएका छन्। कम्पनीको पूर्व सञ्चालन खर्च पूर्ण रूपमा अपलेखन भइसकेको, सर्वसाधारणमा शेयर जारी गरी पहिलो साधारणसभा सम्पन्न भएको, लगातार दुई वर्ष नाफामा रहेको तथा न्यूनतम १३० प्रतिशत सोल्भेन्सी मार्जिन कायम गरेको हुनुपर्नेछ।
यसैगरी, बीमकले आफ्नो नेटवर्थको अधिकतम ३० प्रतिशतसम्म मात्र स्थिर सम्पत्तिमा लगानी गर्न पाउनेछ। लगानीका लागि खरिद गरिएको सम्पत्ति पाँच वर्षसम्म प्रयोगमा नआएमा बिक्री योजना पेश गर्नुपर्नेछ भने एकै वर्षमा नेटवर्थको १० प्रतिशतभन्दा बढी मूल्यको सम्पत्ति बिक्री गर्दा प्राधिकरणलाई जानकारी गराउनुपर्नेछ।
समग्रमा, नयाँ निर्देशिकाले बीमा कम्पनीहरूको घरजग्गा कारोबारलाई अनुशासित बनाउँदै अनावश्यक लगानी रोक्ने र सम्पत्तिको पारदर्शी अभिलेखीकरण सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
१. डिजिटल अभिलेखीकरण र जीआईएस अनिवार्य
नयाँ निर्देशिकाको सबैभन्दा नवीन पक्ष डिजिटल रिपोर्टिङ हो। अब बीमकहरुले आफूले खरिद गरेका वा स्वामित्वमा रहेका सबै स्थिर सम्पत्तिहरुको विवरण, पछिल्लो फोटो र जीआईएस लोकेसनसहित प्राधिकरणले तोकेको डिजिटल ड्यासबोर्डमा प्रविष्ट गर्नुपर्नेछ। प्राधिकरणले स्थिर सम्पत्तिको वास्तविक अवस्थिति र अवस्थाबारे प्रत्यक्ष निगरानी गर्ने उद्देश्यले यो व्यवस्था लागू गरेको हो।
४. घरजग्गा खरिदको प्रयोजन तथा शर्तः
(१) बीमकले देहायको प्रयोजनका लागि घर, जग्गा वा घरजग्गा खरिद वा निर्माण गर्न सक्नेछ:-
(क) कार्यालय प्रयोजन,
(ख) व्यावसायिक प्रयोजन,
(ग) कार्यालय तथा व्यावसायिक प्रयोजन
(२) उपदफा (१) बमोजिम खरिद वा निर्माण गर्न चाहने बीमकले देहायको शर्तको पालना गर्नु पर्नेछः-
(क) बीमकको सम्पूर्ण पूर्व सञ्चालन खर्च (Pre Operating Expenses) अपलेखन भइसकेको हुनु पर्ने,
(ख) बीमकको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिमको सेयर सर्वसाधारणमा जारी गरी सकेपछिको पहिलो साधारण सभा सम्पन्न भएको हुनु पर्ने,
(ग) विगत दुई वर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालन भएको र सञ्चित नोक्सानीमा नरहेको हुनु पर्ने,
(घ) प्राधिकरणले तोकेको न्यूनतम सल्भेसी मार्जिन (१३० प्रतिशत) कायम
भएको हुनु पर्ने ।
(३) उपदफा (२) मा जुनसुकै कुरा उल्लेख भए तापनि कार्यालय प्रयोजनको लागि मात्र घर, जग्गा, वा घरजग्गा खरिद वा निर्माण गर्न यस उपदफा बमोजिमका शर्त लागु हुने छैन ।







