काठमाडौं । ओशो तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणले नेपालको समग्र विकास र दीर्घकालीन हितलाई लक्षित गर्दै ‘साझा राष्ट्रिय एजेन्डा’ सार्वजनिक गरेका छन्। वर्तमान संक्रमणकालीन परिस्थितिमा राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले आठ बुँदे मार्गचित्र अघि सारेका हुन्।
उनले नेपाललाई विश्वस्तरमा योग र ध्यानको केन्द्रका रूपमा विकास गर्न ‘योग, ध्यान, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य मन्त्रालय’ स्थापना गर्न प्रस्ताव गरेका छन्। बढ्दो मानसिक तनाव र जीवनशैलीजन्य रोगको चुनौतीलाई ध्यानमा राख्दै भारतको ‘आयुष’ मन्त्रालयजस्तै संरचना आवश्यक हुने उनको धारणा छ। साथै, धार्मिक तथा आध्यात्मिक संस्थालाई एनजीओ कानुनभन्दा अलग राखी ‘धार्मिक न्यास’ मार्फत सञ्चालन गर्नुपर्ने सुझाव पनि उनले दिएका छन्।
ग्रामीण क्षेत्रमा समस्या बनेको बाँदर आतंकलाई उनले गम्भीर राष्ट्रिय चुनौतीका रूपमा चित्रण गरेका छन्। यसका कारण करिब २५ प्रतिशत खेतीयोग्य जमिन प्रयोगविहीन भएको उल्लेख गर्दै वैज्ञानिक व्यवस्थापन र आवश्यक परे निर्यातसमेत समेट्ने ‘मानव–वन्यजन्तु सहअस्तित्व नीति’ ल्याउनुपर्ने बताएका छन्।
आर्थिक सुधारका विषयमा उनले आध्यात्मिक संस्थाले पाउने दानमा लाग्ने १५ प्रतिशत ब्याज कर हटाउन र ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाका लागि ब्याज करमा छुट दिनुपर्ने प्रस्ताव गरेका छन्। सीमावर्ती क्षेत्रमा हुने सानो कारोबारमा लगाइएको १०० रुपैयाँको सीमा हटाउन र खाद्यान्न, औषधि तथा पुस्तकमा भन्सार शुल्क शून्य बनाउनुपर्ने उनको माग छ।
पर्यटन प्रवर्द्धनका लागि उनले आगामी १० वर्षभित्र एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित विभिन्न योजना अघि सारेका छन्। लुक्ला र जोमसोमजस्ता हिमाली विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको ‘बेस एयरपोर्ट’ बनाउने, १० लाख डलर लगानी गर्ने विदेशीलाई स्थायी बसोबासको सुविधा दिने तथा नेपाललाई ‘एपिजेनेटिक पर्यटन’ को केन्द्र बनाउने प्रस्तावसमेत उनले गरेका छन्। साथै, लुम्बिनीमा बौद्ध राष्ट्रबाट सिधा ‘पुण्य उडान’ सञ्चालन गर्ने र पशुपतिनाथ, मुक्तिनाथ तथा लुम्बिनीलाई पितृ स्मरणको अन्तर्राष्ट्रिय केन्द्र बनाउनेमा उनले जोड दिएका छन्।
ऊर्जा क्षेत्रमा उनले नेपालको जलविद्युत् उत्पादन क्षमता २ लाख मेगावाटसम्म विस्तार गर्न सकिने सम्भावना उल्लेख गर्दै यसलाई कूटनीतिक शक्तिका रूपमा प्रयोग गर्न सुझाव दिएका छन्। सांस्कृतिक पक्षमा ‘अष्टावक्र महागीता’लाई राष्ट्रिय पुस्तक घोषणा गरी यसमार्फत नेपालको बौद्धिक पहिचान विश्वमा फैलाउन सकिने उनको विश्वास छ।
अन्तर्राष्ट्रिय सम्बन्धतर्फ उनले नेपालको पहलमा ‘एसियाली संघ’ गठन गर्ने प्रस्तावसमेत अघि सारेका छन्। युरोपेली संघको ढाँचामा एसियाली राष्ट्रहरूबीच सहकार्य र आर्थिक एकीकरण गर्न सके यसको केन्द्र नेपाल बन्ने र देशको अन्तर्राष्ट्रिय हैसियत बढ्ने उनको धारणा छ। उनले प्रस्तुत गरेका यी प्रस्तावहरूले नेपालको मौलिकता जोगाउँदै समृद्धिको नयाँ मार्ग खोल्ने विश्वास व्यक्त गरेका छन्।







