अर्थतन्त्रको सूचकमा केही सुस्तता छाउँदा त्यसले देशको विभिन्न क्षेत्रमा असर पारिरहेको अवस्था छ । उक्त असरबाट बैंक वित्तीय क्षेत्र पनि अछुतो छैनन् । बैंकहरुको नाफामा सङ्कुचन आएको छ भने सेयर धनीहरूले उचित लाभांश पाउन सकेका छैनन् । बैंकको प्राथमिक पुँजी कोषमा ठुलो दबाब सिर्जना भएको अवस्था छ । कतिपय व्यवसाय बन्द गर्नु पर्ने अवस्थामा पुगेको छ । बैंकहरुलाई कर्जा विस्तार गर्ने पर्याप्त अवसर छैन । यस्तो अवस्थामा एउटै बैंकिङ प्रणालीमा गाँसिएको एनएमबी बैंकको वर्तमान अवस्था तथा समग्र बैंकिङ क्षेत्रमा देखिएका समस्या र समाधानको बारेमा विगत करिब तिन दशक देखि बैंकिङ क्षेत्रमा कार्यरत एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेसँग आर्थिक भ्वाईस प्रतिनिधि बिजय फुयाँलले गरेको कुराकानी :
१. पछिल्लो समयमा बैंकिंग क्षेत्रमा आर्थिक मन्दीको कस्तो असर परिरहेको छ ?
अर्थतन्त्र कमजोर अवस्थामा चलिरहेको प्रत्यक्ष तथा अप्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा पनि परिरहेको छ । बैंकहरुको कर्जा लगानी विस्तार हुन सकेको छैन, खराब कर्जा तथा कर्जा नोक्सानी प्रावधान बढेर गएको छ, नाफामा संकुचन आएको छ र समग्रमा शेयरधनीहरुको लगानीको प्रतिफल घटेको छ । नेपालमा बैंकिंग क्षेत्रको कर्जा लगानी अहिले पनि कुल गार्हस्थ्य उत्पादन आकारको ९४ प्रतिशत हाराहारी रहेको छ जुन दक्षिण एसियाली मुलुकको तुलनामा निकै नै बढी हो । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक हेर्दा गत आ.व. २०७९/८० को ८ महिनामा ८५.६० प्रतिशत रहेको कर्जा निक्षेप अनुपात आ.व. २०८०/८१ को सोही अवधिमा लगभग ८० प्रतिशत रहेको देखिन्छ । अहिले कर्जाको ब्याजदर घट्दो क्रममा रहेतापनि घट्दो कर्जा निक्षेप अनुपातलाई आधार मानेर बैंकहरुको कर्जा प्रवाह रोकिएको वा बैंकिंग क्षेत्रमा आर्थिक मन्दीकै मात्र प्रभाव परेको मान्नु भने गलत बुझाइ हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले गत आ.व.को फाल्गुन मसान्तसम्म लगभग रु. १४२ अर्ब निजी क्षेत्रमा कर्जा प्रवाह गरेकोमा प्रतिकुल आर्थिक अवस्थाका वावजुद चालु आ.व.को सोहि अवधिसम्म रु. २०० अर्बभन्दा बढी कर्जा लगानी विस्तार गरेको देखिन्छ । कर्जाको माग अघिल्लो वर्षको तुलनामा बढ्दै गएतापनि बैंकहरुले अहिले खुलेर कर्जा लगानी बढाउन सक्ने अवस्था भने छैन ।
२. बैंकहरुले अहिले खुलेर लगानी बढाउन सक्ने अवस्था छैन भन्नुभयो । पर्याप्त तरलता हुँदा हुँदै पनि कर्जा लगानी नहुनुको कारण चाँही के हो ?
हाल बैंकिंग क्षेत्रको प्राथमिक पूँजि कोष (Tier-I capital) मा ठूलो दवाव श्रृजना भएको छ । अहिले वाणिज्य बैंकहरुको प्राथमिक पूँजि कोष पर्याप्तता अनुपात ९.५५ प्रतिशत मात्रै छ जो वाणिज्य बैंकहरुले असार मसान्तसम्म कायम राख्नुपर्ने अनुपातभन्दा थोरै मात्र बढी हो । यसको पहिलो कारण त बैंक तथा वित्तीय संस्थाहरुमा भूतगामी पूँजिगत कर दायित्व थपिँदा सो कर बराबरको रकम प्रभावित संस्थाहरुले आफ्नो जगेडा कोषबाटै फछ्र्याैट तथा भुक्तानी गर्नु परेकाले समग्र पूँजि पर्याप्ततामा आएको संकुचन हो । त्यसैगरी, कोभिड संक्रमणले थलिएको अर्थतन्त्र उकास्न केन्द्रिय बैंकले निर्दिष्ट गरेको प्रावधान भित्र रहि बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा लगानी भएको कर्जामा जुन किसिमको पुनरकर्जा, पुनरसंरचना र पुनरतालिकीकरणको सुविधा दिएका थिए, यहाँ थुप्रै व्यवसायीले त्यो सुविधावापत श्रृजित रकमलाई तोकिएको प्रयोजनमा लगानी नगरि अन्य अनुत्पादक क्षेत्रमा लगानी गरेको पाइयो । कोभिडको समयमा बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीहरुलाई विश्वास गर्नु बाहेक कर्जाको वास्तविक उपयोग कसरी भइरहेको छ भनि भौतिक रुपमा अनुगमन गर्ने अवस्था पनि थिएन । यसले गर्दा बैंकहरुको कर्जाको गुणस्तरमा ह्रास आउन गई कर्जा नोक्सानी प्रावधान र खराब कर्जा उल्लेख्य मात्रामा बढ्न गएको छ । यसरी बैंकिंग क्षेत्रको निष्कृय कर्जा बढेर जाँदा प्राथमिक पूँजि कोषमा थप दवाव श्रृजना गरेको छ जसले गर्दा खुलेर कर्जा विस्तार गर्न सक्ने अवस्था छैन ।
३. बैंकिंग क्षेत्रमा हालको अवस्था सिर्जना हुनुको पछाडि के–कस्ता कारण हुन सक्छन् ?
बैंकिंग क्षेत्रमा हाल व्याप्त कठिनाईको बारेमा मैले माथि उल्लेख गरे। यसका अतिरिक्त अन्य थुप्रै बाह्य कारणहरुले गर्दा पनि कर्जा माग, उपभोग, र मुल्य निर्धारणमा समस्या उत्पन्न भएको छ । हाल सहकारी संस्थामा देखा परिरहेको वित्तीय सुशासनको समस्याले व्यक्ति एवं साना तथा मझौला व्यवसायीले गर्ने आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारेको छ जसको चेन इफेक्ट समग्र बजारमा परेको छ । कतिपय व्यवसायहरुको क्यास साइकल (cash cycle) अवधि बढेर गएको छ भने केहिको व्यापार व्यवसाय बन्द भएको र केहिको बन्द हुने अवस्थामा रहेको छ । यसैगरी घरजग्गा क्षेत्रमा आएको मन्दीले व्यवसायीहरुको पूँजि अड्किएर बसेको अवस्था छ । यसका साथै विदेशी शक्ति राष्ट्रहरुमा देखा परेको विश्वासको खडेरी, रसिया–युक्रेन युद्घ, इजरायल तथा मध्य एसियामा बढ्दै गइरहेको भूराजनैतिक तनावहरुका कारण आपूर्ति श्रृङ्खलामा परेको अवरोधले इन्धन एवं कच्चा पदार्थको मूल्य आकाशिन गई दैनिक उपभोग्य वस्तुहरु पनि महंगिन पुग्यो जसले गर्दा अघिल्लो वर्ष मुद्रास्फिति लगभग ८ प्रतिशतको हाराहारीमा रहन गयो ।
केन्द्रिय बैंकद्वारा आयातमा कडाइ गरिनुका साथै नीतिगत दर वृद्धि गरियो जसको प्रत्यक्ष असर ब्याजदरमा पर्न गयो । बढ्दो ब्याजदरका साथै विदेशी विनिमयदर उच्च रहेका कारण कच्चा पदार्थ तथा वस्तुको आयातमा बढी खर्च हुने भएको र बढ्दो मुद्रास्फितिले उपभोक्ताको मागमा पनि कमी आउन थालेको अवस्थामा व्यवसायहरु पूर्ण क्षमतामा चल्न सक्ने वातावरण भएन । साथै, देशमा विद्यमान राजनैतिक अस्थिरता, सरकारी संयन्त्रबीच नमिल्दो तालमेल, पूँजिगत खर्चमा सरकारी उदासिनता, नीतिगत अस्पष्टता, राजनैतिक प्रतिशोध एवं हस्तक्षेप, व्यवसायी तथा बैंकहरुमाथिको धरपकडले उब्जाएको शंका पनि अहिलेको अवस्था श्रृजना हुनु पछाडीका केही कारणहरु हुन सक्छन् ।
४. अहिलेको अवस्थाबाट छुटकारा पाउनका लागि सम्बन्धित निकायहरुले कस्तो खालको भूमिका निर्वाह गर्दा समस्याको हल हुने देख्नु हुन्छ ?
अहिलेको अवस्था मुख्य रूपमा मागमा आएको कमी हो । ग्राहक तथा व्यवसायीमा छाएको नैरश्यता हटाउन सम्बन्धित निकायहरु नीतिगत रुपमै प्रतिवद्ध भए बजारले अहिलेको अवस्थाबाट निकास पाउन सक्छ । यसको लागि सरकारका तीनै तहले समन्वय गरी सर्वप्रथम आर्थिक गतिविधि बढाउन प्रयास गर्नुपर्छ । त्यस्तै उद्योग व्यवसायमा लगानी वृद्धि गर्न लगानीकर्ताहरुमा विश्वासको वातावरण श्रृजना गर्नुपर्छ । अहिले बैंकिंग क्षेत्रलाई निर्देशित क्षेत्रमा बाध्यात्मकारी कर्जा प्रवाह गर्नुपर्ने अवस्था छ । बजार गतिविधी फिक्का भएको अवस्थामा यस्तो बाध्यात्मकारी प्रावधानले थप खराब कर्जाको जोखिम उत्पन्न गराउने सम्भावना रहन्छ । यस्तो बाध्यात्मकारी प्रावधानलाई अर्थतन्त्रको विकासमा प्रयोग गर्न र कर्जा लगानीलाई दीगो बनाउन नीतिगत व्यवस्था गरिनुपर्छ । वैदेशिक लगानी प्रोत्साहन गर्न कानुनी तथा प्रक्रियागत रूपमा सहजीकरण गर्नुपर्छ ।
५. अहिले बैंकिंग प्रणालीमा ४ खर्व भन्दा बढी लगानीयोग्य रकम थुप्रि रहेको अवस्था छ । कर्जा प्रवाह नभएर बैंकहरु छट्पट्टि रहेको अहिलेको अवस्थामा के कस्ता रणनीति अपनाएर अघि बढ्दा थोरै भए पनि राहत पाउने देख्नु भएको छ ?
अघि मैले भने झैँ बैंकिंग क्षेत्रमा कर्जा योग्य लगानी भएतापनि पनि बैंकहरुकालागि कर्जा विस्तार गरिहाल्ने अवसर पर्याप्त छैन । अर्थतन्त्रका केहि सेवा क्षेत्रहरु बाहेक अन्य क्षेत्रहरुको अवस्था पिडादायक स्थितिमै रहेको छ । अघिल्लो वर्ष १.८६ प्रतिशतमा खुम्चेको कुल गार्हस्थ्य उत्पादन वृद्घि यस वर्ष लगभग ३ प्रतिशत पुग्न आँकलन गरिएको छ जुन वृद्घिमा पर्यटन, जलविद्युत, र धान तथा गहुँबालीको उत्पादनमा आएको सुधारहरुको प्रमुख योगदान रहेको छ । अन्य क्षेत्र प्राय सुस्त चलिरहेको छ । यस्तो अवस्थामा बैंकहरुले आफ्नो दक्षताको आधारमा कुनै एकदुई क्षेत्रमा लगानी बढाइहाले भने पनि निर्देशित क्षेत्रहरुमा गरिने कर्जा लगानीको अनुपात मिलाउनुपर्ने प्रावधानका कारण त्यो तालमेल मिलाउन सकिहाल्ने स्थिति छैन । तर यसो भन्दै गर्दा बैंकहरुले लगानी नगर्ने अवस्था हुँदैन । कर्जाको मागमा कमी आउनु तथा कर्जा लगानी भइसकेको व्यापार व्यवसायहरु अधिकतम लेभेरेज्ड भएको अवस्थामा अहिले बैंकहरुले कर्जा व्यवस्थापनमा विशेष जोड दिँदै दीगो क्षेत्रमा कर्जा लगानी गर्दै जानु नै असल रणनीति हुन्छ ।
६. पछिलो समयमा बैंकहरुको निष्क्रिय कर्जा एकदमै बढिरहेको अवस्था छ । एनएमबि बैंकले यसको व्यबस्थापन कसरी गरिरहेको छ ?
निष्कृय कर्जा बढिरहेको अहिलेको अवस्थामा एनएमबि बैंकले थुप्रै परिणाममुखि कार्य ग्रिरहेको छ । एनएमबिमा खराब कर्जा व्यवस्थापनका लागि छुट्टै विभाग रहेको छ । विभागले निरन्तर ग्राहकहरुसँग सल्लाह गरि कर्जा भुक्तानी सरल गराउने, धितो व्यवस्थापनमा सहयोग गर्ने र अर्थतन्त्रमा आएको सुस्तताका कारण आर्थिक चपेटामा परेका ग्राहकहरुको पहिचान गरि उनीहरुको व्यापार व्यवसायलाई पुनरउत्थान गराउन नेपाल राष्ट्र बैंककोे निर्देशन बमोजिम पुनरसंरचना तथा पुनरतालिकीकरणको सुविधा दिन सिफारिस गर्ने जस्ता कामहरु गरिरहेको छ । साथै बैंकमा रहेको जोखिम व्यवस्थापन विभागले विभिन्न उद्योग तथा व्यवसायीक क्षेत्रहरुको बजार विश्लेषण गरि असहज वातावरणबाट गुज्रिरहेको क्षेत्रमा रहेको कर्जा लगानी कसरी व्यवस्थापन गर्ने भन्ने रणनैतिक सुझाव पनि दिने गर्छ । यसैगरि व्यवसायीहरुको लेनदेन तथा स्टकको ढाँचालाई अध्ययन गरि तनावमा रहेका ऋणिहरुको पहिचान गरि प्रारम्भिक चेतावनी संकेत दिन सक्ने प्रविधिमा पनि बैंकले लगानी गरेको छ जसले गर्दा बैंकको निष्कृय कर्जा व्यवस्थापनमा सहयोग हुने गरेको छ ।
७. केही ब्यक्तिहरुले बैंकहरुबाट लिएको ऋण तिर्नु पर्दैन भन्दै हिडिरहेको देखिन्छ । यस्तो खालको प्रवृतिले अर्थतन्त्र तथा बैकिङ्ग प्रणालीमा कस्तो प्रभाव पर्ला ?
बैंकिंग क्षेत्र विश्वासका आधारमा संचालन हुने क्षेत्र हो । निक्षेप लिने वित्तिकै बैंकको दायित्व श्रृजना हुन्छ र निक्षेपको किसिमका आधारमा निश्चित समयमा निक्षेपकर्ताहरुलाई ब्याज पनि भुक्तानी गर्नुपर्ने अवस्था बन्छ । यसरी संकलित निक्षेपकोे केही अंश वैधानिक तरलता एवं अनुपात कायम राख्नका लागि छुट्याई बाँकि कर्जा तथा लगानीका रुपमा बजारमै परिचालन गरेको हुन्छ । तर ऋणिले समयमा कर्जा भूक्तान नगर्दा वा तिर्न अटेर गर्दा त्यसको असर बजारको सबै क्षेत्रमा पर्न जान्छ । ऋण समयमै नतिर्दा बैंकको कर्जा जोखिम भार बढेर जान्छ जसले गर्दा कर्जा नोक्सान प्रावधान अनुपात तथा खराब कर्जा बढेर जान्छ । कर्जा नोक्सानी बढ्दै जाँदा बैंकको प्राथमिक पूँजि कोषमा दवाव पर्ने र बैंकहरुको कर्जा विस्तारमा समेत असर पर्ने हुन्छ जसले गर्दा ग्राहकहरुको कर्जामा पहुँच पनि कठिन हुन गई अर्थतन्त्रमा प्रतिकुल असर पर्न जान्छ । साथै अन्तर्राष्ट्रिय बजारमा समेत नेपालको छवि पनि धुमिलिन सक्छ जसले गर्दा वैदेशिक लगानीमा कमी र भएको लगानी पनि फिर्ता लाने क्रम बढेर जान सक्छ । कुनै एक व्यक्ति वा व्यवसायले आफ्नो कर्जा भूक्तान नहुँदा खासै फरक पर्दैन जस्तो लाग्न सक्छ तर त्यस्तो कुप्रवृति सबैमा विकास हुँदै जाने हो भने समग्र बैंकिंग क्षेत्रलाई धराशायी बनाई अर्थतन्त्र नै तहसनहस हुने स्थिति आउन सक्छ ।
८. अहिलेको अवस्थामा एनएमबि बैंकलाई चाहि मन्दीको प्रभाव कत्तिको परिरहेको छ रु एनएमबि बैंकले यो जटिल अवस्थाको व्यबस्थापन कसरी गरिरहेको छ ?
समग्र अर्थतन्त्रमा नै मन्दीे छाएको र एनएमबि बैंक पनि त्यही अर्थतन्त्र भित्र गाँसिएको संस्था हुँदा यसको प्रभाव निश्चय नै केहि हदसम्म परेको छ । एनएमबि बैंक विगत ६–७ वर्षदेखि दीगो बैंकिंगको नारालाई अँगालेर आफ्नो अलग्गै यात्रामा अघि बढिरहेको नेपाली वित्तीय क्षेत्रको एक अग्रणी बैंक हो । प्राथमिक पूँजि कोषमा दवाव पर्न सक्छ र आफ्नो व्यवसाय विस्तारमा प्रभाव पर्न सक्छ भन्ने प्रक्षेपणमा नै बैंकले गत आ.व.को सम्पूर्ण नाफालाई सञ्चित गरेको थियो । त्यसै गर्दा अहिलेको अवस्थामा बैंकको प्राथमिक पूँजि कोषमा केही दवाव परे पनि बैंकले प्राथमिक क्षेत्रको कर्जा, व्यक्तिगत घर कर्जा र अन्य दीगो परियोजनाहरुमा लगानी वृद्घि गरी नै रहेको छ । पूँजि व्यवस्थापनका लागि निष्कृय कर्जाको रिकभरि मा अझ जोड दिँदै बैंकले केन्द्रिकृत तथा विकेन्द्रिकृत दुवै खाले प्रयासहरु गरिरहेको छ भने लगानीमा पनि विविधिकरण कायम गरिरहेको छ । साथै, बैंकले कर्जा भुक्तानीलाई सहजीकरण गर्न ब्याजदर कम गर्ने र अप्ठ्यारो परेका ऋणीको कर्जा चुक्ता गर्दा ब्याज तथा पेनालमा समेत छुट प्रदान गरिरहेको छ ।
९. पछिल्लो समय ग्रिन बैंकिङको महत्व दैनिक बढ्दो छ । यसको महत्व, कार्यन्वयन पक्ष र चुनौतीको बारेमा प्रकाश पारिदिनुन ?
वातावरणीय जोखिमलाई न्यूनीकरण गरी दीगो आर्थिक विकास हासिल गर्ने विश्वव्यापी प्रयास भइरहेको अवस्थामा ग्रिन बैंकिङको अवधारणा निकै नै महत्वपूर्ण रहेको छ । प्रकृति विनाशले जलवायु परिवर्तन, प्रदुषण र वातावरणीय जोखिमलाई बढाइरहेका बेला यो समस्यालाई जिम्मेवार बैंकिङ अभ्यासमार्फत सम्बोधन गर्नु नै ग्रिन बैंकिङको मुख्य उद्देश्य हो । वित्तीय श्रोतलाई नवीकरणीय ऊर्जा, दिगो कृषि अभ्यासमा विनियोजन गरेर बैंकले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, प्रदुषण कम गर्न र प्राकृतिक स्रोतहरूको संरक्षणमा योगदान दिन सक्छन् । साथै ग्रिन बैंकिङका अभ्यासहरूको अनुसरण गरेमा बैंकले कालान्तरमा संचालन लागत घटाउन सक्छ र सुसंगत प्रतिफल पनि दिन सक्छ । यसमा बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल कर्जा लगानीको निश्चित प्रतिशत लगानी गर्नुपर्ने नियमकारी प्रावधान समेत रहेको छ । सोही अनुसार नै बैंकहरुले नविकरणीय उर्जा लगायत अन्य ग्रिन बैंकिङका क्षेत्रमा लगानी गरेको पाईन्छ । तर यसको कार्यान्वयन गर्दा लगानीमा तत्काल प्रतिफल नमिल्ने हुँदा शेयरधनीको अपेक्षा अनुरुप बैंकको व्यवस्थापन चुकेको हो कि भन्ने पर्न सक्छ जसले गर्दा यो अवधारणाको खुला अभ्यासमा कमी आउन सक्छ । यसका लागि राष्ट्रिय स्तरबाटै यो क्षेत्रमा बैंकहरुलाई स्वतस्फूर्त लगानी बढाउन प्रोत्साहन गर्नका लागि कुनै किसिमको कर छुट तथा कर्जाको प्रत्याभूति दिने व्यवस्था मिलाउन जरुरी छ ।
१०. ग्रिन बैंकिङमा कतिको कर्जा प्रवाह भएको छ । आगामी दिनमा यसलाई वृद्धि गर्दै कतिसम्म पुर्याउने योजना, क्षमता रहेको छ ?
ग्रिन बैंकिङ अन्तर्गत एनएमबि बैंकले कृषि, नवीकरणीय तथा जलविद्युत ऊर्जा, विद्युतीय सवारीसाधन, स्मार्ट आवाशहरुमा लगानी गरिरहेको छ । अहिले बैंकको कुल कर्जाको ५० प्रतिशतभन्दा बढी लगानी हरित तथा दीगो क्षेत्रमा रहेको छ । बैंकले उर्जा क्षेत्रमा कम ब्याजदरमै कर्जा उपलब्ध गराउन २०७८ र २०७९ सालमा दुई पटक गरि नेपालमै पहिलो पटक रु ४.२३ अर्ब बराबरको उर्जा बन्ड जारी गरेको थियो । यसका साथै एनएमबि बैंक वातावरणीय वित्तपोषणका लागि विदेशी दातृ निकायहरुसँग वैदेशिक ऋण लिने पहिलो बैंक हो । हाल बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा हरित बन्ड जारी गर्ने उद्देश्य राखी एक आन्तरिक समिति समेत गठन गरेको छ जसको अभिप्राय हरित बन्डका सिद्धान्तहरूका आधारमा बैंकका लागि हरित बन्ड फ्रेमवर्क तयार पार्ने र लगानीका लागि श्रोतहरूको सुनिश्चितता गरि त्यसको उचित परिचालन गर्ने रहेको छ ।
११. नेपालको परिपाटीमा ग्रिन बैंकिङ कतिको सुहाउँदो छ र किन ? यसको आर्थिक पाटोलाई पनि जोड्नु होला ।
विश्वव्यापि जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य हुँदाहुँदै पनि हामी जलवायु परिवर्तन जाखिम राष्ट्रको सूचीमा चौथो स्थानमा पर्छौं । अझै पनि नेपालको ५० प्रतिशत भन्दा बढी जनसंख्या परम्परागत कृषिमा निर्भर छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको लगभग २५ देखि ३० प्रतिशत योगदान हुने गरेको छ । तर आफ्नै खपतका लागि उब्जाउ गरिएका कृषिजन्य वस्तुहरु कुल गार्हस्थ्य उत्पादनमा नजोडिने हुँदा जीवनस्तरमा कृषिको वास्तविक योगदान अझ बढी रहेको अनुमान गर्न सकिन्छ । तर जलवायु परिवर्तनका कारण कुनै पनि बखत विभिन्न किसिमका प्राकृतिक प्रकोप हुन सक्ने, बाली नसप्रिने, तथा कृषि उत्पादनमा नयाँ किसिमका रोगहरु लाग्ने समस्या उत्पन्न हुन सक्छ ।
त्यस्तै नेपालको जलश्रोत ऊर्जाले दक्षिण एसियाको बढ्दो उर्जा मागलाई सम्बोधन गर्नसक्छ र वैदेशिक व्यापार घाटालाई पनि पुर्न सक्छ । जलविद्युत र ट्रान्समिसन लाइनको विकाससँगै देशलाई औद्योगिकरण तर्फ लिएर जान सकिन्छ । यसले देश भित्रै रोजगारी श्रृजना हुने र युवाहरु विदेश पलायन हुने क्रम पनि रोक्न मद्दत गर्छ भन्ने मेरो बुझाई रहेको छ । तर जलवायु परिवर्तनका कारण हिँउ पग्लिने दर उच्च भएकाले त्यो भविष्यमा दीगो बन्न सक्छ कि सक्दैन भन्ने चिन्ता बढेर गएको छ । यस कारण ग्रिन बैंकिंग हाम्रो लागि आवश्यक छ । हालै गरिएको अध्ययन अनुसार नेपालमा ग्रिन हाईड्रोजन उत्पादनको सम्भावना देखाएको छ । हामीले ग्रिन बैंकिंगको आवधारणालाई आत्मसात गरेर जाने हो भने भविष्यमा ग्रिन हाईड्रोजनको बहुउपयोग गरि आयातकर्ता देशबाट निर्यातकर्ता देशमा नेपाललाई रुपान्तरण गर्न सकिन्छ ।
१२. यहाँहरुले विपन्न कर्जामा कतिको फोकस गर्नु भएको अवस्था छ ?
एनएमबि बैंक सन २०१५ देखि नेपालबाट ग्लोबल अलायन्स फर बैंकिंग अन भ्यालुजको (GABV) सदस्यता प्राप्त गर्ने एकमात्र वाणिज्य बैंक हो । एनएमबि बैंक नाफाभन्दा पहिले समुदायको हितको वारेमा सोच्ने गर्छ । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जामा तोकेको प्रतिशतभन्दा पनि बढि यस बैंकले उक्त क्षेत्रमा कर्जा लगानी गरेको छ । साथै बैंकले आफ्नो सहायक कम्पनी एनएमबि लघुवित्त वित्तीय संस्थाका १४९ शाखाहरु मार्फत ग्रामिण भेगका जनता तथा त्यहाँ बसोबास गर्ने विपन्न वर्गलाई लघुवित्त सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
१३. स–साना रिटेल कारोबार तथा बचत खाताहरु बढाउन यहाँहरुले के कस्तो भुमिका खेल्दै आउनु भएको छ ?
बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, सोको उपयोगिता र भविष्यमा वित्तीय आवश्यकता पूरा गर्नको लागि बचतको महत्व बारे जानकारी गराउन विभिन्न आर्थिक सचेतना कार्यक्रम संचालन गर्नुका साथै सामजिक संजालमार्फत समेत वित्तीय अनुशासन बारे नियमित रुपमा सुचनाहरु प्रवाह गरिरहेको छ । बचतलाई प्रोत्साहन गर्न सुविधाजनक र पहुँचयोग्य टचप्वाइन्टहरुमार्फत सेवा प्रदान गरिरहेको छ । रिटेल कारोवार बढाउनका लागि एटिएम कार्ड, क्यूआर पेमेन्ट, अनलाइन ट्रान्सफर, आरटिजिएस जस्ता डिजिटल भुक्तानी सेवा तथा अन्य डिजिटल सेवाहरु आफ्नो मोबाइल बैंकिंग एप र ईन्टरनेट बैंकिंगबाट प्रदान गर्दै आइरहेको छ । साथै बैंकले निकट भविष्यमा अन्तरदेशीय भुक्तानी सेवा पनि आफ्नो डिजिटल टचप्वाइन्टमार्फत प्रदान गर्नेछ । साना तथा मझौला व्यवसायीलाई क्यूआर कर्जाको पनि शुरुवात गरेको छ । यस अन्तर्गत हामीसँग आबद्घ ती व्यवसायीहरुलाई बैंकमा नटेकी आफ्नो व्यवसायको क्युआरमा भएको भुक्तानीको आधारमा धितो विना नै उनीहरुले चाहेको जुनसुकै बखतमा कर्जा उपलब्ध गराइन्छ । साथै बैंकले ईकमर्स प्लेटफर्म दराज नेपालसँग सहकार्य गरि सो कम्पनीमा आबद्घ व्यवसायीहरुको अत्यावश्यक वित्त मागलाई पुरा गर्न आर्टिफिसियल इन्टिलिजेन्स् प्रयोग गरि डिजिटल माध्यमबाटै दराज क्युआर कर्जा सुविधा पनि उपलब्ध गराइरहेको छ ।
१४. डिजिटल बैंकिंगमा अगाडी बढ्नका लागि बैंकले कसरी काम गरिरहेको छ ? डिजिटल बैंकिंग अन्तर्गत के कस्ता सुविधा दिइरहनु भएको छ ?
पछिल्लो समयमा डिजिटल बैंकिङको महत्व एकदमै बढ्दै गएको छ र भविष्य नै डिजिटल हो भन्ने बैंकको बुझाइ रहेको छ । सोही बमोजिम यस बैंकले प्रत्येक विभागको आन्तरिक प्रक्रिया र केही ग्राहक लक्षित कार्यहरुलाई डिजिटाइजेसनमार्फत स्वचालित गरिसकेकोे छ । डिजिटाइजेसन मार्फत कर्मचारीहरुको दक्षता र प्रभावकारिता बढाउन सकियो भने त्यो अनुभव ग्राहकसम्म पनि सजिलै रुपान्तरण हुन्छ भन्ने हाम्रो बुझाइ हो । ग्राहकले हाल डिजिटल माध्यमबाटै यस बैंकमा विभिन्न किसिमका निक्षेप खाता खोल्न, अन्तरबैंक भुक्तानी गर्न तथा अन्य सेवा सुविधाका लागि बैंकलाई आग्रह गर्न सक्छन् । यस्तै व्यवसायीहरुले घरमै बसी अनलाइन माध्यमबाट बैंक ग्यारेन्टी जारी गर्न सक्छन् । बैंकको आगामी दिनहरुमा डिजिटल प्रविधिमा थप लगानी गर्दै सम्पूर्ण सेवा सुविधाहरुलाई डिजिटल माध्यमबाटै प्रयोग गर्नसक्ने यसको दायरा अझ परिस्कृत बनाउँदै लैजाने र बैंकलाई अहिलेको बैंकिंगलाई ग्राहकहरुको लाइफस्टाइल बैंकिंग मागसँग जोडि आफूलाई रुपान्तरण गरेर लैजाने छ । र यो क्रममा बैंकले साइबर सुरक्षालाई सँधै नै प्राथमिकता राखी ग्राहकको डाटा सुरक्षाको थप प्रत्याभूति दिलाउने छ ।
१५. बैंकहरु सधै अनुत्पादक क्षेत्रमा मात्रै केन्द्रीत भए, आयातलाई घटाउने गरी उत्पादन मुलक क्षेत्रमा कर्जा दिने गरि योजना खासै छैन भनिन्छ नि ? एनएमबी बैंकले चाही कुन कुन क्षेत्रमा लगानी गरिरहेको छ ?
बैंकहरुले विभिन्न नियम कानुन तथा नियामक निकायको निर्देशनहरु पालना गर्दै निक्षेपकर्ताको बचतलाई समेत सुरक्षित गर्दै लगानी विस्तार गर्ने गरेका हुन्छन् । बैंकले भिन्नाभिन्नै क्षेत्रमा लगानी गर्दै अर्थतन्त्र चलायमान बनाउने हो । बैंक तथा वित्तीय संस्थाहरु यूनिभर्सल बैंकिंग अन्तर्गत कारण नेपाल राष्ट्र बैंकले कर्जा सम्बन्धी प्रकृया तोके बमोजिम कर्जा माग गर्न आउने जो कोहिलाई उनीहरुको आयले भ्याउने र औचित्य खुल्ने गरि कर्जा प्रदान गरेको हुन्छ । फेरि बैंकहरुले केन्द्रिय बैंकले निर्दिष्ट गरे बमोजिम प्राथमिक क्षेत्रहरुमा आफ्नो कुल कर्जाको ४५ प्रतिशत लगानी गरिरहेका छन् । एनएमबि बैंकले आफ्नो कुल कर्जाको ५० प्रतिशतभन्दा बढी उत्पादनमुलक क्षेत्रमा कर्जा विस्तार गरेको छ जसमा कृषि, उर्जा, स्वास्थ्य, शिक्षा, निर्माण, पर्यटन तथा उद्योग क्षेत्र रहेका छन् । यस बैंकले विभिन्न नकारात्मक असर पार्ने व्यवसायको पहिचान गरि कर्जा बहिस्कार सूचि पनि तयार गरेको छ जसमा सूर्तिजन्य पदार्थको उत्पादन तथा प्रशोधन गर्ने कम्पनी, पर्यावरणलाई असर पार्ने व्यवसाय लगायत सामेल गरिएको छ ।
१६. अझै पनि देशमा कतिपय नागरिकहरु वित्तीय पहुँच भन्दा बाहिर छन्, एनएमबी बैंकले आम नागरिकमा वित्तीय पहुँच पुर्याउनका लागि कस्तो भूमिका खेलिरहेको छ ?
वित्तीय पहुँच अभिवृद्धि गर्न एनएमबी बैंकले विभिन्न प्रयास गरेको छ । बैंकले साना किसान, महिला उद्यमी र ग्रामीण क्षेत्रका जनसंख्याको आवश्यकता अनुरूप विभिन्न शिर्षकहरुमा सरल कर्जा सुविधाहरु उपलब्ध गराउँदै उनीहरुलाई आत्मनिर्भर बनाउन मद्दत गरिरहेको छ । निम्न आय तथा घरजग्गा धितो नभएका व्यक्ति र व्यवसायहरूलाई आयआर्जन गर्ने गतिविधिहरू सुरु गर्न वा विस्तार गर्न बिनाधितो कर्जाहरु पनि प्रदान गर्दै आइरहेको छ । यसका साथै बैंकले आफ्नो लगानी रहेको लघुवित्त संस्थामार्फत ग्रामिण भेगका १ लाख भन्दा बढी ग्राहकहरुलाई विभिन्न बैंकिंग सेवासुविधा प्रदान गर्दै आइरहेको छ । यस्तै एनएमबिले दुर्गम क्षेत्रमा शाखारहित बैंकिङ एजेन्टहरूका माध्यमबाट बैंकिंग सुविधा प्रदान गर्ने र आफ्ना सम्पूर्ण शाखाहरुलाई प्रयोग गरी विभिन्न वर्गहरुको वित्तीय साक्षरताका लागि जनचेतना अभिवृद्घिका कार्यक्रमहरू नियमित रुपमा सञ्चालन गराइरहेको छ ।
१७. बैंकका आगामी योजनाहरु संक्षेपमा भन्नु पर्दा के के रहेका छन् ?
एनएमबि बैंक दीगो बैंकिंगको आफ्नो नारालाई निरन्तरता दिँदै आगामी दिनहरुमा ग्राहकहरुको सेवा सुविधालाई उत्कृष्ट रुपमा प्रदान गर्ने योजनामा छ । यसका लागि बैंकले डिजिटाइजेशन र साइबर सुरक्षामा आफ्नो लगानी अझै बढाउँदै लाने छ । बैंकले दीगो विकासका लक्ष्यहरु अन्तर्गत ऊर्जा, प्रविधि, किफायती आवास, शिक्षा, स्वास्थ्य सेवा र सामुदायिक विकासमा अझ बढि लगानीको सम्भावनाहरुको खोजी गर्दै दिगो बैंकिंङको मापदण्डहरूसँग मिल्दोजुल्दो परियोजना तथा व्यवसायहरूमा लगानी विस्तार गर्दै लैजाने योजना राखेको छ । साथै बैंकले आफ्ना कर्मचारीहरुको क्षमता विकास गर्दै संस्थागत सुशासनका उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरुलाई अँगिकार गरि नेपालको उत्कृष्ट तथा दीगो बैंक बनेर शेयरधनीहरुलाई पनि उत्कृष्ट प्रतिफल दिने लक्ष्य राखेको छ ।