काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत भयो । सनाखतपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे।  प्रदेश प्रमुख खापुङले बुधवार राति नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

एमाले र माओवादीले बुधवार नै नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । कांग्रेसका केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परे पनि ३० दिनभित्र विश्वासको मत नलिएकाले काम चलाउ सरकार बनेको र नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने उनीहरूको तर्क थियो।