काठमाडौँ : गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरणका लागि क्षमतायोग्य भएका तर प्रतिफल घोषणा गर्न बाँकी १० वटा बैंकहरु रहेका छन् ।
१० वटा बैंकहरुमध्येमा सिद्धार्थ र एनएमबि बैंकको गत वर्षको लाभांश क्षमता क्रमशः २.६० र १.३० प्रतिशत कायम छ । जगेडा वा अन्य कुनै कोषबाट केही रकम लाभांशको रूपमा वितरण गर्न मिल्ने भए यी बैंकहरुले पनि लाभांश दर बढाएर दिन सक्ने देखिन्छ ।
लाभांश प्रस्ताव गर्न बाँकी रहेका बैंकहरुमध्येमा सबैभन्दा धेरै क्षमता स्टान्डर्ड चार्टर्ड बैंक देखिएको छ। यसको गत वर्षका लागि लाभांश वितरण क्षमता २६.५० प्रतिशत रहेको छ। त्यस्तै, कृषि विकास बैंकको १७.३७, नबिल बैंकको १४.२६ र नेपाल एसबीआई बैंकको १०.७६ प्रतिशत लाभांश वितरण क्षमता देखिएको छ ।
त्यस्तै, नेपाल बैंकको ५.२४, प्रभु बैंकको ५.२ र माछापुच्छ्रे बैंकको लाभांश क्षमता ४.०१ प्रतिशत देखिएको छ । मेगा, कुमारी र एनआइसी एसिया बैंकको लाभांश क्षमता भने ऋणात्मक देखिएको छ। यिनीहरूले गत वर्षको नाफाबाट लाभांश वितरण गर्न योग्य हुने छैनन् ।
लाभांश वितरणका लागि क्षमतायोग्य तर प्रतिफल घोषणा गर्न बाँकी १० वटा बैंकहरु

यस अवधिमा ४ बैंकले लाभांश घोषणा गरेका छन् । एभरेष्ट बैंकले गत वर्षको नाफाबाट शेयर धनीलाई १५.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो। बैंकले साधारण सभा बोलाएर लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी, सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश पारित गरेको छ । सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न मंसिर ४ गतेका लागि सभा आह्वान गरेको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकले भने आज आइतबार ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यता, ग्लोबल आइएमईले ५.५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।








