काठमाडौँ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कात्तिक महिनामा मात्रै मा ७० हजार ९९० जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन्। कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि गएका ७० हजारभन्दा बढी नेपाली मध्येमा ६२ हजार ८९० पुरुष र आठ हजार १०० महिला रहेका छन् ।
एक महिनाको अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको सङ्ख्या १२ हजार ५९८ रहेको छ। जसमा १० हजार २६८ पुरुष र दुई हजार ३३० महिला रहेका छन् । त्यस्तै संस्थागत ९मेनपावर० मार्फत श्रम स्वीकृति लिएर २३ हजार ५५६ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।
चालु आर्थिक वर्षको चार महिनामा करिब साढे २ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनदेखि कात्तिक मसान्तसम्ममा दुई लाख २७ हजार ८३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । कात्तिक महिनामा मात्रै ६७० जना मात्रै जी टु जी मार्फत गएका छन्।
असोजमा ८ हजार ९३८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश गएका थिए भने कात्तिकमा १२ हजार ५९८ जना गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिनेको सङ्ख्या भन्दा संस्थागत श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्यामा कमी आएको छ।







