काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले फागुन २८ गतेका लागि ५ वर्षको साधारण सभा एकैपटक डाकेको छ ।
सभामा सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश/फैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको सेयर पूँजी ४ अर्ब १ करोड अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन पारित गर्ने र कम्पनीको पसलकवलसँग सेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०र७१ देखि २०७५र७६ सम्मको आर्थिक विवरण (वासलात, आय विवरण नगद प्रवाह विवरण) तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने र सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी नेपाल सरकारलाई वितरण गरेको नगद लाभांश अनुमोदन गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने, आर्थिक वर्ष २०८०र८१ र २०८१र८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, लगायतका प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।