काठमाडौँ । लामो रस्साकस्सीपछि अन्ततः राष्ट्रबैंकले १८ औँ गभर्नरको रूपमा अर्थविद् विश्व पौडेललाई पाएको छ। गभर्नर रिक्त भएको ४२ दिनपछि मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्त गरेसँगै शेयर बजारमा समेत सुधारको संकेत देखिएको छ ।
अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्निया बर्कलेबाट सन् २०१० मा विद्यावारिधि गरेका पौडेल अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को आर्थिक सल्लाहकारका रूपमा समेत काम गरेको अनुभव छ ।
इतिहास र अर्थशास्त्रबारे विशेष ज्ञान भएका पौडेलको आगमनले शिथिल बनेको शेयर बजारको गति फेर्न कस्तो भूमिका रहलाँ भन्ने आम लगानीकर्ताको चासोको विषय छ । शेयर बजारको सन्दर्भमा पोजेटिभ देखिएका पौडेलको भूमिका कस्तो हुनुपर्छ ।
शेयर बजारका लगानीकर्ताको मुख्य समस्या र चुनौती के हुन सक्छन् भनेर आर्थिक भ्वाइसले लगानीकर्ता तथा विश्लेषक छोटेलाल रौनियार र नेपाल पुँजी बजार लगानीकर्ता संघको पूर्व अध्यक्ष समेत रहेकी राधा पोखरेललाई सोधेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश
छोटेलाल रौनीयार
नयाँ गभर्नर माथि हामी आशावादी छौ । हाल नियुक्त भएको गभर्नर बजारप्रति पोजेटिभ नै हुनुहुन्छ । उहाँभित्र काम गरौँ भन्ने जोस छ जाँगर छ । मैले बुझेको उहाँ आफ्नो काममा केन्द्रित भएको मान्छे हो । क्षमता र योग्यताको हिसाबले समेत उहाँ अब्बल मान्छे हो । बजार हाइड्रो र बैंक क्षेत्र सबै बुझेको हुनुहुन्छ । अझ खास कुरा त उहाँ शेयर बजारको हकमा पोजेटिभ मान्छे हो । यसकारण भन्न सकिन्छ कि उहाँले शेयर बजारको हकमा राम्रो गर्नुहुनेछ।
आगामी मौद्रिक नीतिको सन्दर्भमा समेत उहाँले नियुक्ति भएको पहिलो दिन नै सरकारसँग वित्तीय नीतिमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यो मनासिब विषय हो । शेयर बजारको लगानीकर्ताको हकमा आगामी मौद्रिक नीतिमा हाम्रो माग धेरै पनि छैन र ठूलो पनि होइन । हामीले भनेका छौ जोखिम बहनलाई एक सयमा ल्याउनुपर्ने छ । यो हाम्रो आजको माग होइन पुरानै हो ।
अर्को माइक्रो फाइनान्सहरूलाई जुन १५ प्रतिशतको सिलिङ लगाइएको छ बोनस लाभांश दिने भएर त्यो गलत नीति हो । कुनै कम्पनीले राष्ट्रबैंकको परिधिभित्र बसेर कमाउँछ भने खर्चहरू बाड्फाट गरेर रिजर्भ कोषमा राखेर बचेको मध्येबाट बोनस लाभांश दिने हो । त्यसमा अङ्कुश लाउनु कदापि राम्रो होइन । यसकारण यो पनि हटाउनु आवश्यक छ ।
हाल बजारमा तरलता बढेको छ, कर्जा प्रवाह हुन सकेको । अर्थतन्त्र शिथिल छ तर शेयर बजारमा हाल भने बढेर १२४ अर्ब लोन पुगेको विषयमा मैले समाचार पढे । पहिले ३२ सय अंक हुँदा जम्मा १२५ अर्ब लोन हो । १८ सयको इन्डेक्समा आउँदाखेरि १८ सयकै लोन हो । यो लोन पहिले कहिल्यै पनि गएको छैन । नेपालको हाइ इन्डेक्स भनेको ३२ सय सम्म हो हालसम्म अब ३२ सयको उचाइमा १२५ अर्ब मात्रै गएको थियो । खासमा ३ चार खर्ब लोन जानुपर्ने हो शेयर बजारमा तर त्यस्तो पनि भएको छैन । पूर्व गभर्नर अधिकारीले भ्रम छरेर गए डाटामा ध्वस्त छ । यसकारण पुराना नीति सबै डम्पिङ गर्नुपर्छ ।
१५,१६खर्ब हावामा उडेर गएको छ । रिकभरी गर्ने शेयर बजारबाटै हो तर हाल त्यस्तो पोलेसी छैन । नयाँ गभर्नरसँग पनि हाम्रो चाहाना शेयर बजार बढाइदिनुस् भन्ने होइन मात्रै पोलेसी राम्रो बनाइदिनुस् माग र आपूर्ति आफै बढ्छ भनेको हो । मुख्य कुरा नै पोलेसी निर्माणको हो । यसको कुनै न कुनै सम्बन्ध धितो पत्रसँग पनि जोडिने भएको कारण गभर्नरले उक्त बोर्डसँग पनि समन्वय गरेर लैजानुपर्छ भन्ने हाम्रो धारणा हो ।
अर्को भनेको मौद्रिक नीतिको तेस्रो क्वाटर आउने वाला छ । त्यसमा तत्कालीन ३-४ वटा समस्याको मात्रै समाधान गर्ने हो भने बजारले तत्काल उचाइ लिन्छ र यही बजारबाट गुमेको १५-१६ खर्ब पनि यही बाटोबाट फिर्ता हुन्छ । उहाँको क्षमता र योग्यताको आधारमा यी समस्याको समाधान गर्नुहुन्छ र गर्नुपर्छ नै भन्ने लाग्छ ।
राधा पोखरेल
लामो समयदेखि रिक्त रहेको ठाउँमा हामीले गभर्नर पाएका छौ । यो खुशीको कुरा हो । हामीले गभर्नरका सन्दर्भमा मात्रै हैन कि अन्य जस्तो कि धितोपत्र बोर्ड ,नेप्से लगायतका संस्थामा अर्थतन्त्रलाई बुझेको, योग्य र सक्षम व्यक्ति नै आओस् भन्ने चाहाना हुन्छ । हालको अवस्था आएको गभर्नरसँग पनि हाम्रो आशा गर्ने ठाउँ पर्याप्त नै छ । उहाँको कार्यशैली जर्ज गर्ने समय आएको छैन । भर्खरै नियुक्ति सकिएको छ । जज गर्ने ठाउँ रहँदै जाला ।
राष्ट्रबैंकको सम्बन्ध शेयर बजारसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । बैकिङ क्षेत्रको हिस्सा शेयर बजारमा ठूलो छ । राष्ट्रबैंकले बनाउने निर्णय र त्यसले ल्याउने पोलेसिको कारण शेयर बजारलाई निकै अर्थ राख्छ । अबको गभर्नरबाट हामीले अपेक्षा गर्ने भनेकै स्टेबल पोलेसी बजारका खराब टिप्पणीको समाधान गर्ने गरी मौद्रिक नीतिको निर्माण लगायतका धेरै विषयमा ध्यान जान जरुरी छ भन्ने लाग्छ ।
मुख्य कुरा त स्टेबल पोलेसी नै अबको आवश्यकता हो भन्ने मेरो चाहाना छ । साथै, उहाँले अबको दिनमा सत्ता स्वार्थका लागि भन्दा पनि समग्र क्षेत्रको हित र राष्ट्रका फाइदाका लागि पोलेसी बनाउनुभयो भने त्यसको प्रभाव शेयर बजारमा राम्रो हुन्छ भन्ने लाग्छ ।
हाल शेयर बजारलाई नियमन गर्ने बहनामा नियन्त्रण गर्ने काम भएको छ । जुन एउटा क्याप लगाइएको छ । त्यो क्याप पूर्णरुपमा खारेज गरिनुपर्छ त्यस्तै अर्को मुख्य समस्याको रूपमा रहेको जोखिम बहनको विषय हो । यसलाई १५० बाट १२५ मा झारिएको छ । त्यसलाई पनि १०० मा कायम गरिनुपर्छ भन्ने हाम्रो भनाई हो । हाल शेयर बजारको उचाइको निमित्त यही दुईवटा मात्रै कुरा गर्ने हो भने मात्रै पनि राम्रो हुनेछ । शेयर बजारका लागि फाइदा हुनेछ । लगानीकर्ताको हितमा हुनेछ ।