काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारका लागि न्यूनतम तलब निर्धारण गरेको छ । मन्त्रालयले युएई जाने कामदारका लागि न्यूनतममा एक हजार दिराम तलब निर्धारण गरेको हो ।

मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएई स्थित दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्री स्तरीय निर्णय गरिएको जानकारी दिएका छन् ।

। उनले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताए । युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिराम भन्दा कम भए मागपत्र प्रमाणीकरण नहुने बताइएको छ।

“युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ”, मन्त्री भण्डारीले भने, “तोकिएकोभन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणीकरण हुनेछैन ।”