काठमाडौं । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर घटेर ऋणात्मक सम्म पुग्न सक्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट अपडेट अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २।१ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिएको हो । नेपालको आर्थिक वृद्धिदर खुम्चिन सक्ने कारणहरुमा जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिलाई मुख्य मानिएको छ ।

राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशतमा झर्ने र त्यसपछि पनि परिस्थिति सम्हालिन नसकेको खण्डमा १.५ देखि २.६ प्रतिशतको ऋणात्मक रहन सक्ने विश्व बैंकको प्रक्षेपण छ ।

ऋणात्मक बन्न सक्ने कारणहरुमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमनमा तीव्र गिरावट, जेनजी आन्दोलनपछि सम्पत्तिको नोक्सानीले बीमा उद्योगलाई पार्ने असर, लगानीकर्ताको मनोबलमा गिरावट आई आन्तरिक तथा बाह्य लगानी प्रभावित हुन सक्ने अवस्थालाई लिइएको छ । यस्तै, खराम मौसमका कारण धान उत्पादनमा आउने कमीले पनि आर्थिक वृद्धिदर घटाउन भूमिका खेल्ने आँकलन गरिएको छ ।