काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.५२ अंकले उकालो लाग्दै २७१२.४९ विन्दुमा पुगेको छ।

आजको कारोबारमा १ करोड ५१ लाख ५४ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

कारोबारमा सहभागी २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ। दुई कम्पनीको मूल्य भने स्थिर रहेको छ। साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा पुगेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत अगाडि रह्यो, जसको ३४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। रिडी पावरको २७ करोड ७४ लाख रुपैयाँ, एसवाई प्यानलको २४ करोड ६७ लाख रुपैयाँ, मन्जुश्री फाइनान्सको २२ करोड ६० लाख रुपैयाँ र ङादी ग्रुपको २० करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।