काठमाडौं । सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै शासन चलाउन थालेको भन्दै विपक्षीहरु दलहरु सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
बुधबार विपक्षी दलहरुको बैठकपछि नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक र असंसदीय भएको भन्दै आपत्ति जनाए ।
उनले सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै राजकाज चलाउने प्रयास गरेको भन्दै सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने संसद्को औचित्य समाप्त हुने जिकिर गरे ।
यदि सरकारले नीति तथा कार्यक्रम र बजेटसमेत अध्यादेशमार्फत ल्याउने बाटो रोजे विपक्षी दलहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै भने, ‘नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने त हाम्रो भन्नु केही छैन । त्यसपछि सदनको मुद्दा सकियो हामी सडकमा जानुपर्छ । तर हामीलाई विश्वास छ यो सरकारले नीति तथा कार्यक्रम त संसदबाटै ल्याउँछ होला । त्यतिबेला नै फैसला होला ।’







