काठमाडौं । सार्वजनिक यातायातको भाडामा सरकारले फेरि वृद्धि गर्दा सर्वसाधारण नागरिक बढी प्रभावित भएका छन् ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिएको बताएको हो ।

विभागले जारी गरेको सूचनाअनुसार यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको छ । डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

भाडादर वृद्धि भएसँगै सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको छ । एकातिर खाद्यान्न तथा अत्यावश्यक वस्तुहरूको मूल्य निरन्तर बढ्दै जाँदा भान्सा महँगो भइरहेको छ भने अर्कोतिर यातायात भाडा वृद्धि हुँदा आवतजावतसमेत महँगो बनेको छ ।

बढेको भाडा विद्युतीय सवारीमा भने लागू हुने छैन । यसअघि चैत २५ गते भाडा बढाइएको थियो ।