काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत चीनको सहायता सम्बन्धी सम्झौता आज भएको छ । सो सम्झौता अनुसार यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

आज भएको सम्झौता पत्रमा भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंले हस्ताक्षर गरेका छन् ।

चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिने उक्त सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गरी आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा व्यक्त गरे ।

चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका थिए ।