काठमाडौं। निर्वाचनपछि सोमबार खुलेको सेयर बजारमा व्यापक उत्साह देखिएको छ। बजारमा लगातार तीनवटा पोजिटिभ सर्किट लागेपछि जम्मा ३ मिनेट मात्रै कारोबार गरेर बजार बन्द भयो।

रास्वपाको एकल बहुमतको सरकार बन्ने पक्का भएपछि लगानीकर्ताहरू उत्साहित भएका हुन् । बजार खुलेलगत्तै ४ प्रतिशतले नेप्से बढेपछि सर्किट ब्रेक लगाई नेप्सेले २० मिनेटका लागि कारोबार बन्द गरेको थियो । त्यसपछि खुलेको बजारमा फेरि अर्को मिनेटमा ५ प्रतिशतले नेप्से बढेपछि दोस्रो सर्किट लाग्यो र कारोबार ४० मिनेटका लागि स्थगित भयो ।

त्यसपछि खुलेको बजारमा फेरि १ मिनेट नपुग्दै ६ प्रतिशतले नेप्से बढेपछि सोमबार दिनभरका लागि कारोबार नै बन्द गर्नुपर्‍यो । लगातार तीनवटा सर्किटपछि बन्द भएको सेयर बजार अब मंगलबार मात्र खुल्नेछ । भोलि (मंगलबार) पनि बजारमा सर्किटहरू लाग्ने धेरैको दाबी छ।

२४ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा

सोमबार नेप्से परिसूचक ३ मिनेटको कुल कारोबारमा १६२ दशमलव ९३ अंकले बढेर २८७५ को विन्दुमा पुगेको छ । आज बजारमा २५३ कम्पनीको सेयर किनबेच भयो, जसमध्ये २५२ कम्पनीको मूल्य उछालको गतिमा बढ्यो भने एउटा कम्पनी रिलायन्स स्पिनिङ मिल्सको मूल्य मात्र घट्न पुग्यो । रिलायन्सको सेयर १० कित्ता कारोबार भयो र मूल्य प्रतिकित्ता १०.२० रुपैयाँले घट्यो ।

यो तीन मिनेटमा व्यापार समूह सबैभन्दा बढी ७.७३ प्रतिशतले बढ्यो भने लगानी समूहमा ७.०६ प्रतिशतको उछाल देखियो । बैंकिङ समूह पनि ७ प्रतिशतको हाराहारीमै बढ्न पुग्यो ।

विकास बैंक समूह करिब ६ प्रतिशत, होटल तथा टुरिजम करिब ६ प्रतिशत, जलविद्युत समूह करिब ७ प्रतिशत, जीवन बीमा समूह करिब ५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ५ प्रतिशतभन्दा बढी, माइक्रोफाइनान्स ४ प्रतिशत, निर्जीवन बीमा समूह करिब ४ प्रतिशत र अन्य समूह ५.५६ प्रतिशतले बढे ।

आज २४ कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा पुग्यो ।

सेयर बजारको यो उत्साहबारे विश्लेषण गर्न आर्थिक भ्वाइसले नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालसँग कुराकानी गरेको छ। उनले बजारमा देखिएको तीव्र उछालको मुख्य कारण राजनीतिक स्पष्टता, स्थिर सरकारको अपेक्षा र लगानीकर्तामा बढेको विश्वास रहेको बताएका छन्।

निर्वाचनपछि हट्यो अन्योल, लगानीकर्तामा बढ्यो विश्वास

ढकालका अनुसार लामो समयदेखि साइडवेज अवस्थामा रहेको बजार निर्वाचन सम्पन्न भई नयाँ सरकार बन्ने अवस्था स्पष्ट भएपछि एकाएक सकारात्मक सर्किटमा पुगेको हो।

“लामो समयदेखि बजार स्पष्ट दिशा बिना साइडवेजमा थियो। लगानीकर्तामा पनि पर्ख र हेरको अवस्था थियो,” उनले भने, “जेनजी आन्दोलनपछि त झन् चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल अन्तिम समयसम्म थियो। तर चुनाव सफलतापूर्वक सम्पन्न भएर नयाँ सरकार बन्ने अवस्था बनेपछि लगानीकर्ताले बजारमा तुरुन्तै सकारात्मक प्रतिक्रिया दिएका हुन्।”

उनका अनुसार चुनावपछि पहिलो पटक बजार खुल्दा राजनीतिक अस्थिरताको सम्भावना लगभग अन्त्य भएको सन्देश बजारले पाएको छ।

“२०६४ पछि नेपालमा स्पष्ट बहुमतको सरकार बन्ने अवस्था देखिएको थिएन,” ढकालले भने, “यसपटकको जनादेशले कम्तीमा पाँच वर्षसम्म स्थिर सरकार बन्ने संकेत दिएको छ। यही स्थिरताको सन्देश नै बजारका लागि सबैभन्दा ठूलो सकारात्मक संकेत हो।”

स्थिर सरकार र कानुनी सुधारको अपेक्षाले बजार उकालो

ढकालका अनुसार स्थिर सरकार बनेपछि आर्थिक र नीतिगत सुधार गर्न सजिलो हुने भएकाले लगानीकर्ताको मनोबल बढेको हो।

“जब सरकार स्थिर हुन्छ, तब नीति निर्माणमा निरन्तरता हुन्छ,” उनले भने, “कानुन संशोधनदेखि आर्थिक सुधारका कार्यक्रमसम्म लागू गर्न सहज हुन्छ। लगानीकर्ताले यही सम्भावनालाई मूल्यांकन गरेर बजारमा उत्साह देखाएका हुन्।”

नेतृत्वप्रतिको अपेक्षाले पनि बढ्यो उत्साह

विगतमा पनि प्रधानमन्त्री वा अर्थमन्त्रीको व्यक्तित्वले बजारमा प्रभाव पार्ने गरेको उदाहरण छन्। हाल नयाँ सरकारको नेतृत्वमा बालेन्द्र शाह प्रधानमन्त्री बन्ने र अर्थमन्त्रीमा स्वर्णिम वाग्ले आउने चर्चा चलेको विषयले पनि बजारमा सकारात्मक मनोविज्ञान सिर्जना गरेको ढकालले बताए।

“बालेन शाह जस्तो युवा नेतृत्वले काठमाडौं महानगरपालिकामा काम गरेर देखाइसक्नुभएको छ,” उनले भने, “उहाँको काम गर्ने शैली र परिणामले लगानीकर्तामा पनि विश्वास पैदा गरेको छ।”

उनका अनुसार सामाजिक न्याय र पुँजी निर्माणबीच सन्तुलन कायम गर्न सके अर्थतन्त्रलाई गति दिन सकिन्छ।

“बालेन शाहको सामाजिक न्यायको सोच र स्वर्णिम वाग्लेको पुँजी निर्माणमा आधारित आर्थिक दृष्टिकोण मिल्दा अर्थतन्त्र चलायमान हुन्छ,” उनले भने, “अर्थतन्त्र चलायमान भयो भने पुँजी बजार स्वतः सक्रिय हुन्छ।”

पुँजी बजार सुधारमा सरकारको भूमिका महत्वपूर्ण

ढकालले अब बन्ने सरकारसँग पुँजी बजारका लगानीकर्ताको मुख्य अपेक्षा स्थिर र दीर्घकालीन नीति रहेको बताए।

“लामो समयदेखि पुँजी बजार अन्योलमा थियो,” उनले भने, “अब बहुमतको सरकार बनेपछि कम्तीमा पाँच वर्षसम्म स्थिर नीति, नियम र कानुन बनाइदिनु आवश्यक छ।”

यसै विषयमा आर्थिक भ्वाइसले अर्का लगानीकर्ता नयन वास्तोलासँग पनि प्रतिक्रिया लिएको छ। उनका अनुसार लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता र नीतिगत अन्योलका कारण नेपाली सेयर बजारले अपेक्षित गति लिन सकेको थिएन।

राजनीतिक अस्थिरताले रोकिएको थियो बजार, अब स्थिरताको अपेक्षा

वास्तोलाका अनुसार विगतमा सरकार परिवर्तनको चक्र र नीतिगत अस्पष्टताका कारण लगानीकर्तामा विश्वास कमजोर भएको थियो।

“धेरै समयसम्म देशमा राजनीतिक अस्थिरता रहँदा नीतिगत स्थिरता पनि हुन सकेन,” उनले भने, “सरकार बदलिने, नीति फेरिने र आर्थिक प्राथमिकता स्पष्ट नहुने अवस्थाले सेयर बजारलाई स्वाभाविक रूपमा बढ्न दिएन।”

उनका अनुसार अहिले निर्वाचन सम्पन्न भएसँगै त्यो अन्योल हट्दै गएको छ। “अब देशमा निर्वाचन सम्पन्न भएको छ र जनताले झण्डै दुई तिहाइको सरकार बनाउने जनादेश दिएका छन्,” उनले भने, “यसले कम्तीमा पाँच वर्षसम्म स्थिर सरकार र स्पष्ट आर्थिक नीति आउने आशा पैदा गरेको छ।”

नयाँ नेतृत्वप्रति लगानीकर्ताको भरोसा

वास्तोलाका अनुसार नयाँ नेतृत्वप्रति जनताले देखाएको विश्वासले पनि बजारमा सकारात्मक सन्देश दिएको छ।

“जनताले भरोसा गरेको नयाँ नेतृत्व आएको छ,” उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमै सेयर बजारलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने जनाएको छ। यही कारण लगानीकर्ताहरू पनि आशावादी देखिएका छन्।”

राजनीतिक हस्तक्षेपको चक्र तोडिनुपर्ने

वास्तोलाका अनुसार विगतमा आर्थिक संस्थाहरूमा राजनीतिक भागबन्डाको प्रभाव देखिँदा बजारमा नकारात्मक असर परेको थियो।

उनले भने, “एउटा पार्टीको गर्भनर, अर्को पार्टीको अर्थमन्त्री र अर्को पार्टीको नेतृत्व हुने प्रवृत्तिले नीति निर्माणमा स्पष्टता आउन सकेन, यस्तो राजनीतिक भागबन्डाको संस्कृतिले बजारलाई स्थिर हुन दिएन।”

उनका अनुसार अब त्यो चक्र तोडिनुपर्ने समय आएको छ।

“मार्केटलाई राजनीतिक रूपमा बढाउने वा घटाउने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनले भने, “यदि नीति र संस्थाहरू स्वतन्त्र रूपमा चल्न पाए भने बजार स्वाभाविक रूपमा सकारात्मक दिशातर्फ अघि बढ्छ।”

नेपाली राजनीतिमा स्थिरताको संकेत, सेयर बजारमा आशाको सञ्चार प्रवाह

पाँच वर्षको स्थिर नीति आए बजारमा सकारात्मक गति देखिने

वास्तोलाका अनुसार अब बन्ने सरकारले दीर्घकालीन आर्थिक नीति र स्पष्ट नियामक व्यवस्था ल्याउन सके सेयर बजारले सकारात्मक गति लिनेछ।

“अब पाँच वर्षको स्थिर सरकार र स्थिर नीति–नियम आएपछि बजारले सकारात्मक गति लिन्छ भन्ने हाम्रो विश्वास छ,” उनले भने, “लगानीकर्तालाई सबैभन्दा आवश्यक कुरा भनेको पूर्वानुमान गर्न सकिने नीति वातावरण हो।”

मध्यपूर्व तनावले ठूलो असर नपर्ने अनुमान

वास्तोलाले अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावबारे पनि टिप्पणी गरेका छन्। उनका अनुसार मध्यपूर्व क्षेत्रमा देखिएको तनाव दीर्घकालीन रूपमा जारी रहने सम्भावना कम देखिन्छ।

उनले भने, “मध्यपूर्वमा देखिने तनाव सधैं चलिरहने जस्तो लाग्दैन, त्यसैले नेपाली बजारमा यसको प्रत्यक्ष ठूलो असर पर्ने सम्भावना कम देखिन्छ।”

तर उनले दीर्घकालीन रूपमा नेपालले आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए।

“बाह्य परिस्थितिमा निर्भर भएर मात्र अर्थतन्त्र बलियो हुँदैन,” उनले भने, “हामीले उत्पादन, लगानी र आर्थिक गतिविधि बढाएर आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्नुपर्छ।”

समग्रमा हेर्दा निर्वाचनपछि देखिएको राजनीतिक स्पष्टता, स्थिर सरकारको अपेक्षा र नयाँ नेतृत्वप्रतिको विश्वासले नेपाली सेयर बजारमा अचानक उत्साह देखिएको विश्लेषकहरू बताउँछन्।

लगानीकर्ता र विज्ञहरूका अनुसार अबको मुख्य चुनौती भनेको यही सकारात्मक मनोविज्ञानलाई दीर्घकालीन नीतिगत स्थिरता, आर्थिक सुधार र पुँजी बजारमैत्री संरचनामार्फत टिकाइराख्नु हो।

यदि नयाँ सरकारले पाँच वर्षसम्म स्पष्ट आर्थिक नीति, संस्थागत सुधार र लगानीमैत्री वातावरण निर्माण गर्न सकेमा हाल देखिएको उत्साह क्षणिक मात्र नभई नेपाली पुँजी बजारको दीर्घकालीन वृद्धिको आधार बन्न सक्ने विश्वास लगानीकर्ताहरूले व्यक्त गरेका छन्।