काठमाडौँ । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण तेल आपूर्तिमा अवरोध आउन सक्ने आशंकाले बुधबार एसियाली सेयर बजारमा तीव्र गिरावट देखिएको छ। लगानीकर्ताहरू ऊर्जा आपूर्तिको अनिश्चितताप्रति चिन्तित बनेपछि अधिकांश प्रमुख सूचकहरू राताम्मे भएका हुन्।

सबैभन्दा बढी असर दक्षिण कोरियाली बजारमा परेको देखिएको छ। दक्षिण कोरियाको कोस्पी सूचक १३।७१ प्रतिशतले घटेर ५ हजार ९३.५४ विन्दुमा बन्द भयो। अघिल्लो दिन पनि सूचक करिब ७ प्रतिशतले झरेको थियो। बजार विश्लेषकहरूका अनुसार यस वर्ष ठूलो उछाल देखाएका चिप कम्पनीहरूमा आएको बिक्री दबाबले बजारलाई थप कमजोर बनाएको हो।

यस क्षेत्रका अन्य बजारहरू पनि दबाबमा रहे। जापानको निक्केई सूचक ४.०८ प्रतिशतले ओरालो लाग्दै २ हजार २०६.०५ विन्दुमा पुगेको छ। ताइवानको चिप उद्योगमा आधारित टीएसईएक्स सूचक ४.१ प्रतिशतले घटेर १ हजार ४९४.७७ विन्दुमा कायम भएको छ।

हङकङको हाङसेङ सूचक २.१९ प्रतिशतले घट्दा चीनको सांघाई कम्पोजिट पनि करिब १ प्रतिशतले तल झरेको छ। एसियाली मुलुकहरू मध्यपूर्वबाट आयात हुने तेलमा अत्यधिक निर्भर छन्। सो तेल मुख्यतः इरानको आंशिक नियन्त्रणमा रहेको हर्मुज जलडमरू हुँदै विश्व बजारमा आपूर्ति हुन्छ।

उक्त जलमार्गमार्फत हुने ढुवानी प्रभावित भएको र खाडी क्षेत्रबाट हुने ऊर्जा निर्यातमा अवरोध आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। गत वर्ष हर्मुज जलडमरूमार्फत ढुवानी भएको कच्चा तेलमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा एसियाली देशहरूले उपभोग गरेका थिए।

ऊर्जा आपूर्तिमा सम्भावित संकटका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्र हुँदै आवतजावत गर्ने जहाजलाई अमेरिकी सरकारले बीमा र सुरक्षा ग्यारेन्टी उपलब्ध गराउने निर्देशन दिएका छन्। आवश्यकता परे अमेरिकी नौसेनाले तेल ट्यांकरहरूलाई हर्मुज जलडमरूमार्फत सुरक्षित पार गराउने पनि उनले बताएका छन्।

यद्यपि यस्तो घोषणापछि पनि अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य उकालो लागेको छ। विश्व बजारको प्रमुख मापदण्ड ब्रेन्ट क्रुड १ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर पुगेको छ भने अमेरिकी बेन्चमार्क डब्लूटीआई पनि उस्तै दरले महँगिएको छ।

युरोपेली बजारमा भने मंगलबारको तीव्र गिरावटपछि केही सुधार देखिएको छ। बेलायत, जर्मनी र फ्रान्सका प्रमुख सूचकहरू सकारात्मक क्षेत्रमा फर्किएका छन्। अमेरिकी फ्युचर्स कारोबारले पनि बजार सामान्य सुधारसहित खुल्ने संकेत दिएको छ।

विश्लेषकहरूका अनुसार लगानीकर्ताहरू हाल अमेरिकी नीतिगत कदमप्रति केन्द्रित भए पनि इरानको सम्भावित प्रतिक्रियालाई कम आँक्न नहुने धारणा व्यक्त गरिएको छ। मध्यपूर्वमा तनाव लामो समयसम्म रहिरहेमा विश्वव्यापी मुद्रास्फीति चुलिनुका साथै आर्थिक वृद्धिदरमा सुस्ती आउन सक्ने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन्। तेल निर्यातकर्ता राष्ट्र भएकाले युरोप र एसियाको तुलनामा अमेरिका कम प्रभावित हुन सक्ने अनुमान गरिएको छ।