काठमाडौँ । संसारमा पैसा, सत्ता र शक्तिको आडमा कतिसम्मका कुकृत हुनसक्छन् भन्ने कुरा एकपटक फेरि सतहमा आएको छ। अमेरिकामा यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य कागजातहरू सार्वजनिक भएपछि पछिल्लो समय विश्वभर हलचल मच्चिएको छ।
अमेरिकी जनताको चर्को दबाबपछि अमेरिकाको न्याय विभागले गत जनवरी ३० मा अमेरिकाको विवादास्पद यौन काण्ड एपस्टिन फाइल्सका करिब ३० लाख पृष्ठका कागजातहरू सार्वजनिक गरेको थियो। यी फाइलहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहित विश्वका प्रमुख नेता, धनाढ्य, राजपरिवारका सदस्य, सेलिब्रेटी र अन्तर्राष्ट्रिय हस्तीहरूका नाम समावेश छन्। जसले गर्दा अमेरिकामा मात्र नभई युरोप, एशिया र अन्य महादेशमा समेत राजनीतिक हलचल सिर्जना भएको छ।
एपस्टिन फाइल्सका कागजातहरू सार्वजनिक भएसँगै विश्वभर १५ भन्दा बढी उच्च अधिकारीहरूले पद छोड्नुपरेको छ भने ८० भन्दा बढी प्रभावशाली व्यक्तिहरूमाथि अनुसन्धान सुरु भइसकेको छ। यो फाइलमा ७०० देखि १००० भन्दा बढी व्यक्तिहरूको सम्पर्क विवरण, इमेल र उडान रेकर्ड रहेको देखिन्छ। धेरै घटनामा त नाबालिगहरूको यौन शोषणको आरोपको समेत खुलासा भएको छ।
एपस्टिन फाइल्सको नालीबेली
दशकौँदेखि रहस्य र विवादको केन्द्रमा रहेका अमेरिकी व्यवसायी जेफ्री एपस्टिनसम्बन्धी काण्डको चर्चा फेरि हुन थालेको छ। उनका कुकर्महरूको अनुसन्धान सम्बन्धी फाइल नै एपस्टिन फाइल्स हो। हालै सार्वजनिक भएको एपस्टिन फाइलले उनको यौन शोषण र तस्करीको मुद्दाको खुलासा गरेको छ।

रोचक कुरा के छ भने उनका कुकृतहरूमा विश्वभरका महान हस्तीहरू पनि सामेल रहेका तथ्यहरू बाहिर आउन थालेका छन्। विश्व जगतले आइडल मानेका हस्तीहरू एपस्टिन फाइल सार्वजनिक भएसँगै कसैले आफ्नो पदबाट राजीनामा दिएका छन् भने कोही टाउको लुकाउँदै हिडेका छन्।
पहिलोपटक सन् २००५ मा अमेरिकी व्यवसायी जेफ्री एपस्टिनमाथि बालिका र युवतीहरूको यौन शोषण र तस्करी गरेको आरोप लागेको थियो। फ्लोरिडामा १४ वर्षकी बालिकाकी आमाले उजुरी दर्ता गरिन्। एपस्टिनले मसाजको बहानामा यौन शोषण गरेको उनको आरोप थियो। त्यसपछि अनुसन्धानमा ३० नाबालिग बालिकाहरूको बयान भेटियो। उनीहरूले आफूसँग जेफ्री एपस्टिनले गरेको यौन शोषणबारे बयान दिएका थिए।
यस्तो गम्भीर अपराधमा पनि उनलाई १३ महिनाको हल्का सजाय र दिउँसो बाहिर काम गर्ने अनुमति मिलेको थियो। उनी राति सुत्नका लागि मात्र जेलमा जान्थे। किनभने अमेरिकी अटर्नी अफिसले एपस्टिनलाई संघीय मुद्दा (फेडरल ट्रायल)बाट बचाउने प्ली डिल दिएको थियो। यो सम्झौता स्वीकृत गर्ने अभियोजक एलेक्स एकोस्टा पछि २०१७ मा ट्रम्पको पहिलो कार्यकालमा श्रम मन्त्री बनेका थिए।
छोटो अवधि जेलमा बिताएर फेरि एपस्टिन आफ्नो सामान्य जीवनमा फर्किए। उनको आफ्नो निजी आइल्याण्डमा १२ देखि १७ वर्षका कलिला बालिकाहरूको यौन शोषण हुन्थ्यो। तर त्यहाँबाट उनीहरू बाहिर निस्कन सक्दैनथे। रोचक कुरा के छ भने विश्वभरका महान हस्तीहरू एपस्टिनको आइल्याण्डमा पार्टी गर्न पुग्थे। उनका गतिविधिहरूको प्रमाण बढ्दै गयो, तर कुनै निर्णायक कारबाही भएन। पैसा, सत्ता र शक्तिको आडमा उनका सबै अपराधहरू लुकाइएको थियो।
तर अनुसन्धान पत्रकार जुली के. ब्राउनले उनका पुराना मुद्दाहरू पुनः उजागर गर्ने हिम्मत गरिन्। उनले पीडितहरूको अन्तवार्ता लिइन् र एपस्टिनका अपराधहरूको पर्दाफास गरिन्। त्यसपछि एपस्टिनको सिकार बनेका महिलाहरूले आफूसँग भएको घटनाबारे बयान दिंदै मीटू आन्दोलन सुरु गरे।
मीटू आन्दोलनपछि पीडितहरूको गवाही र अनुसन्धानले एपस्टिनका प्रभावशाली सम्पर्कहरू उजागर भए। पीडितहरूको बयान सार्वजनिक भएपछि सन् २०१९ मा एपस्टिन पुनः पक्राउ परे, यसपटक यौन तस्करीको आरोपमा उनलाई पक्राउ गरिएको थियो।
एपस्टिनको कथामा रोचक मोड आयो अगष्ट १०, २०१९ मा । एपस्टिन जेलमा मृत भेटिए। सरकारी रिपोर्ट अनुसार उनको मृत्यु आत्महत्याका कारण भएको भनिएको थियो। तर, सीसीटीभी क्यामेरामा रेकर्ड फेला नपर्नु, गार्डहरू त्यही दिन निदाउनु लगायतका धेरै शंकास्पद प्रमाणहरू भेटिएपछि उनको मृत्यु आत्महत्या नभइ हत्या भएको दाबी गरिँदै आएको छ।
एपस्टिन फाइललाई गुपचुप राख्न खोजिरहेका ट्रम्पप्रति नागरिकको अविश्वास बढ्दै थियो। अमेरिकी नागरिकहरूको चर्को दबाबपछि हाल अदालतको आदेशले फाइलहरू जारी गरिएका हुन्। एपस्टिन फाइल सार्वजनिक भइसकेपछि उक्त प्रकरणमा विश्वभरका हस्तीहरू मुछिएको खुलासा भएको हो।
एपस्टिन फाइलहरूमा ३८ हजार पटक ट्रम्पको नाम
एपस्टिन फाइलहरूमा ट्रम्पको नाम ३८ हजार पटकभन्दा बढी उल्लेख गरिएको छ। रेकर्डमा १९९० को दशकमा एपस्टिनको निजी विमानबाट ७–८ पटक उनले यात्रा गरेको कुरा उल्लेख छ। ट्रम्पको मार–ए–लागो क्लबको गेस्ट लिस्टमा पनि एपस्टिन समावेश छन्।

यसअघि ट्रम्पले एपस्टिनको निजी विमानबाट आफूले कहिले यात्रा नगरेको दाबी गरेका थिए। ट्रम्पका केही आपत्तीजनक तस्वीहरू पनि फाइल्समा प्रकाशित भएका छन्। ट्रम्प पटक–पटक एपस्टिनको आइल्याण्डमा पार्टी गर्न गएका छन्। प्राप्त विवरणअनुसार ट्रम्पको उनीसँगको निकटता कति गहिरो थियो भन्ने कुरा प्रष्ट हुन्छ।
युरोपमा एपस्टिन सुनामी
एपस्टिनको खुलासापछि सबैभन्दा बढी हलचल युरोपमा मच्चिएको छ। युरोपका करिब १० देशमा राजीनामा दिने क्रम सुरु भएको छ। सबैभन्दा धेरै बेलायतमा ३ अधिकारीले पद छोड्नुपर्यो। पूर्व राजदूत पिटर म्यान्डेलसन, सल्लाहकार एडम पेरी र प्रधानमन्त्री किअर स्टारमरका चिफ अफ स्टाफ मोरगन म्याकस्विनीले राजीनामा दिए।
स्लोभाकियामा पूर्व विदेश मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार मिरोस्लाभ लाइचाकले ३०० भन्दा बढी इमेल र आपत्तिजनक च्याट सार्वजनिक भएपछि राजीनामा दिए। स्वीडेनकी वरिष्ठ कूटनीतिज्ञ जोआना रुबिनस्टाइनले पद छोडिन्। नर्वेकी राजदूत मोना जुल, अमेरिकामा श्रम मन्त्री एलेक्स एकोस्टा र एमआईटी ल्याब प्रमुख जोइची इतोले राजीनामा दिए।
यही फाइलका कारण नर्वेमा राजदूत मोना जुललाई निलम्बित गरियो र पूर्व प्रधानमन्त्री थोरबजोर्न जगल्याण्डविरुद्ध भ्रष्टाचार अनुसन्धान सुरु भयो। वरिष्ठ कूटनीतिज्ञ तेर्झे रोड–लार्सनमाथि पनि छानबिन भइरहेको छ।
पोल्याण्ड, लातभिया र टर्कीले मानव बेचबिखनमा आधिकारिक जाँच गर्न विशेष टोलीहरू गठन गरे।
गेट्सदेखि पूर्व इजरायली प्रधानमन्त्रीसम्मलाई पछुतो
केही ठूला नामहरू अगाडि आएपछि उनीहरू र तिनका परिवारले सार्वजनिक रूपमा माफी माग्न र पछुतो व्यक्त गर्न थालेका छन्। नर्वेकी क्राउन प्रिन्सेस मेटे–मारिटका इमेल र संवाद सार्वजनिक भएपछि राजशाही स्तरको संस्थागत समीक्षा भयो र उनले सार्वजनिक रूपमा माफी मागिन्।

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले पनि एपस्टिनसँगको भेटघाट र संवादप्रति पछुतो व्यक्त गर्दै फाउन्डेसनको बोर्डबाट राजीनामा दिए। इजरायलका पूर्वप्रधानमन्त्री एहुद बराकको नाम न्यूयोर्कमा एपस्टिनको अपार्टमेन्टमा बस्ने र बैठकहरूको रेकर्डमा आएपछि उनले स्पष्टीकरण दिनुपर्यो।
लज्जास्पद स्थितिः सरकारहरूद्वारा अनुसन्धानको आदेश
एपस्टिन फाइलहरू धेरै देशका सरकारहरूका लागि कूटनीतिक र राजनीतिक लज्जाको कारण बनेका छन्। बेलायती प्रधानमन्त्री स्टारमरले माफी माग्नुप¥यो। राजकुमार एन्ड्र्यूविरुद्ध बेलायती प्रहरीले नयाँ फाइलका आधारमा नयाँ समीक्षा सुरु गरेको छ।

अनुसन्धानमा यौन शोषणको नेटवर्क अमेरिकामा मात्र सीमित नभएको खुल्यो। एपस्टिनले संगठित ट्राफिकिङ नेटवर्क बनाएका थिए। अहिलेसम्म १५ देशका धनी, नेता र अन्तर्राष्ट्रिय हस्तीहरूको नाम अगाडि आएको छ।
अनिल अम्बानीको नाम पनि मुछियो
अमेरिकी न्याय विभागले जेफ्री एपस्टिनसँग सम्बन्धित जारी गरेका कागजातमा, उद्योगपति अनिल अम्बानीसँग जोडिएका नयाँ खुलासाहरू अगाडि आएका छन्। यी कागजातहरू एपस्टिन र अनिल अम्बानीबीच २०१७ देखि २०१९ को अवधिमा भएको कुराकानीसँग सम्बन्धित छन्।
ब्लूमबर्गको रिपोर्ट अनुसार, यसमा व्यापार, विश्वव्यापी मामिला र महिलाहरूको विषयमा चर्चा भएको थियो।
पैसा, सत्ता र प्रभावशाली सम्बन्धले न्याय र कानुनमाथि कति गहिरो छायाँ पार्न सक्छ भन्ने कुरा एपस्टिन फाइल्सले देखाएको छ । विश्वका महान हस्तीहरू, राजपरिवार र उद्योगपति समावेश भएका खुलासाले मानिसलाई सोच्न बाध्य बनाउँछ कि कसरी शक्ति र लोभले मानवता माथि विजय पाउँछ ?
तर, पीडितहरूको साहस र पत्रकारको अनुसन्धानले सत्यलाई प्रकाशमा ल्यायो। एपस्टिन काण्डले केवल अमेरिकी मात्र होइन, संसारभरको राजनीतिक, सामाजिक र नैतिक चेतनामा हलचल मच्चाएको छ । सत्ता र सम्पत्तिको आडमा पनि अपराध कहिले पनि पूर्ण रूपमा लुक्न सक्दैन। सत्य एक न एक दिन कुनै न कुनै रुपमा बाहिर आएरै छाड्छ भन्ने सन्देश एपस्टिन फाइल्सले दिएको छ।







