काठमाडौँ। आज मे १ विश्व मजदुर दिवस । नेपाल सहित आज विश्वभर १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूले न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, पेशागत विकास र श्रमको सम्मान सुनिश्चित गर्नुपर्ने माग गर्दै हरेक वर्ष मे १ मा योे दिवस मनाउँदै आएका छन्।
आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा नेपालमा श्रमिकमैत्री नीतिहरू प्रभावकारी रूपमा हालसम्म पनि कार्यान्वयनमा आउन नसकेको गुनासो अझै कायम छ।
किन मनाइन्छ अन्तर्राष्ट्रिय श्रमिक दिवस ? यस्तो छ इतिहास
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।
बैंकिङ क्षेत्रमा नवप्रर्वतनको आवश्यकता बढ्दै, राष्ट्र बैंकको उदारता जरुरी रहेको विज्ञको भनाई
त्यसपछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् ।
नेपालमा भने श्रमिक आन्दोलन २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको मानिन्छ। नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।
नेपालमा राष्ट्रिय जनगणना २०७८ ले १ करोड १० लाख ३८ हजार मानिस कुनै न कुनै किसिमको रोजगारमा संलग्न रहेको देखाएको छ। यसमध्ये कृषि, वन र माछापालनमा ५० प्रतिशत, सामान्य वा प्राथमिक पेशामा २३ प्रतिशत, सेवा तथा वस्तु बिक्रीमा करिब ६ प्रतिशत संलग्न छन्।







