काठमाडौं । आज बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्व भर मनाइँदै छ । नेपालमा पनि उक्त अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदूर आन्दोलनको सम्झनामा आज विश्वभर श्रमिक दिवस मनाइँदैछ ।

नेपालमा समेत मजदूर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । नेपालमा विराटनगरमा २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

विश्वका मजदूरले यो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

यस अवसरमा आज विभिन्न राजनीतिक दल , संघ संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।  श्रमिक दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । आज बैंक बित्तीय संस्था तथा सेयर बजार कारोबार र सरकारी कार्यालय बन्द रहने छ ।