काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको धनकुटा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एक अर्थपूर्ण कार्यक्रमको आयोजना गर्दै जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै जीवन बीमा सम्बन्धी विशेष अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार धनकुटाको एक होटलमा कार्यक्रम गर्दै स्थानिय गोकण्डेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर अध्ययनमा लगनशील विद्यार्थीहरूलाई स्कुल ब्याग, कापी, पेन्सिल, कलम लगायतका आवश्यक शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै उनीहरूको शैक्षिक यात्रामा थप प्रेरणा प्रदान गर्नु रहेको थियो। कार्यक्रममा कम्पनीका कोशी बि प्रमुख जगत नाथ फुयाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
उहाँले सामग्री वितरण गर्दै सानो सहयोगले पनि विद्यार्थीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने बताउनुभयो। “शिक्षा नै भविष्यको आधार हो, र यस्ता सहयोगले विद्यार्थीहरूलाई अझ उत्साहित बनाउनेछ,” उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षको रूपमा जीवन बीमा सम्बन्धी विशेष तालिम तथा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। प्रदेश प्रमुख फुयालले उपस्थित अभिकर्ता, शिक्षक तथा सहभागीहरूलाई जीवन बीमाको आवश्यकता, यसको महत्व, जोखिम व्यवस्थापनमा यसको भूमिका तथा दीर्घकालीन आर्थिक सुरक्षामा बीमाले पुर्याउने योगदानबारे विस्तृत रूपमा जानकारी दिनुभयो।
साथै उहाँले कम्पनीद्वारा सञ्चालनमा रहेका विभिन्न बीमा योजनाहरू, वार्षिक तथा मासिक बचत योजनाहरू, बोनस प्रणाली र बीमाबाट प्राप्त हुने प्रतिफलका बारेमा समेत प्रष्ट पार्नुभयो। उहाँले जीवन बीमा केवल बचत मात्र नभई परिवारको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै सबैलाई बीमामा सहभागी हुन आग्रह गर्नुभयो।
विशेषगरी युवाहरूलाई लक्षित गर्दै बीमा क्षेत्रमा करियर निर्माण गर्ने सम्भावनाबारे पनि प्रेरणादायी विचार व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाईंले कार्यक्रमप्रति आभार व्यक्त गर्दै निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरिएको यस्तो सहयोग अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो।
उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै अध्ययनप्रति झनै लगाव सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर तथा एजेन्सी अफिसरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
धनकुटा शाखा प्रमुख भगवती कार्कीले कार्यक्रमको सञ्चालन गर्दै यसको उद्देश्य र प्रभावबारे प्रकाश पार्नुभयो। उहाँले भविष्यमा पनि यस्ता सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा आर्थिक सचेतनाका क्षेत्रमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ।







