काठमाडौँ। बीमा क्षेत्रलाई अझै पनि धेरैले “फुल टाइम नगरे सफल हुँदैन” भन्ने दृष्टिले हेर्ने गर्छन्। तर विराटनगरका भोला कटुवालले यो सोचलाई गलत सावित गरेका छन्।
आईटी क्षेत्रमा झण्डै दुई दशकभन्दा बढी समय फुल टाइम काम गर्दै आएका कटुवालले पार्ट–टाइम रूपमा सुरु गरेको बीमा यात्रालाई आज प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सीईओ क्लब एचिभरको उचाइसम्म पुर्याएका छन्।
विगत चार–पाँच वर्षदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा एजेन्सी म्यानेजरका रूपमा कार्यरत कटुवाल बीमा क्षेत्रमा नयाँ पात्र भने होइनन्। उनी सन् २००४ सालदेखि नै बीमाको अवधारणा, महत्व र प्रणालीबारे जानकार रहँदै आएका छन्।
कटुवालले आफ्नो बीमा यात्रा एलआईसी नेपालबाट सुरु गरेका थिए। “बीमा भनेको के हो, यसले कसरी काम गर्छ भन्ने कुरा मैले एलआईसी नेपालबाट बुझ्न थालेको हुँ,” उनी भन्छन्। त्यसपछि उनले प्राइम लाइफ इन्स्योरेन्समा पनि आबद्ध भएर बीमा क्षेत्रको व्यावहारिक अनुभव थपे।
विभिन्न कम्पनीमा काम गर्दै बीमाको संरचना, ग्राहकको मनोविज्ञान र बजारको सम्भावना बुझ्दै आएका कटुवाल विगत करिब पाँच वर्षदेखि भने निरन्तर रूपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समै आबद्ध छन्।
प्रभु महालक्ष्मी लाइफ नै किन ?
कटुवालका अनुसार प्रभु महालक्ष्मी लाइफ रोज्नुको मुख्य कारण कम्पनीभित्रको टिमवर्क, शाखा प्रबन्धकहरूको सहयोग, सेवासुविधा र कम्पनीको निरन्तर ग्रोथ हो।
“पछिल्लो समय प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स एकआपसमा गाभिएपछि राम्रो भोल्युममा व्यवसाय भइरहेको छ,” उनी भन्छन्, “देशका प्रतिष्ठित व्यवसायिक घरानाबाट सञ्चालित कम्पनी भएकाले जनविश्वास पनि उच्च छ, जसले गर्दा ग्राहकलाई बुझाउन पनि सजिलो भएको छ।”

उनले कम्पनीको साथ र सहयोग पाइरहेकाले कम्पनीप्रति सन्तुष्ट रहेको बताए।
फुल टाइम आईटी, पार्ट टाइम बीमा
कटुवालको पृष्ठभूमि आईटी क्षेत्र हो। उनी विगत २४–२५ वर्षदेखि आईटी क्षेत्रमा फुल टाइमरका रूपमा सक्रिय छन्। विराटनगरमै उनले ओम टेक्नोलोजी नामक आईटी कम्पनी पनि सञ्चालन गर्दै आइरहेका छन्। कटुवालले त्यहाँबाट विभिन्न सर्भिस र प्रोडक्ट बिक्री गर्दै आइरहेका छन्। साथै, उनी सहकारी क्षेत्रमा समेत आबद्ध छन्।
यति धेरै जिम्मेवारीबीच पनि उनले बीमालाई पार्ट टाइममै निरन्तरता दिँदै आएका छन्। उनी भन्छन्, “बचेको समयलाई सदुपयोग गर्दै बीमा क्षेत्रमा योगदान गर्न सकिन्छ भन्ने सोचले यो यात्रा जारी राखेको हुँ।”
समय व्यवस्थापन कसरी गर्छन् ?
फुल टाइम आईटी र पार्ट टाइम बीमा सँगसँगै चलाउनु त्यति सजिलो भने छैन। कटुवालका अनुसार समय व्यवस्थापन धेरै ठूलो चुनौतीका रूपमा छ।
“बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आफ्नो नियमित आईटी कम्पनीको काम हुन्छ,” उनी भन्छन्, “बिहान–बेलुका, छुट्टीको दिन र फुर्सदको समयमा बीमाको काम गर्छु।”
यसमा शाखाबाट पाएको सहयोग पनि उनका लागि ठूलो टेवा बनेको छ। “शनिबार–आइतबार नभनीकन शाखाबाट सहयोग पाइरहेकाले काम गर्न सहज भएको छ,” उनी बताउँछन्।
बीमाले दिएको भावनात्मक सन्तुष्टि
करिब एक दशक बीमा अभिकर्ताका रूपमा बिताएका कटुवालले यस अवधिमा धेरै उतार–चढाव देखे। तीमध्ये एउटा घटना उनका लागि अत्यन्तै भावनात्मक र प्रेरणादायी बन्यो।
एक बीमितले ५ लाख रुपैयाँको जीवन बीमा गरेका थिए। एक वर्षको प्रिमियम तिरेपछि नै सुतिरहेको अवस्थामा उनको प्राकृतिक मृत्यु भयो। त्यसपछि कटुवाल र उनको टिमले बीमा भुक्तानी प्रक्रियालाई अघि बढाए। सबै कागजी प्रक्रिया पूरा भएपछि कम्पनीले बीमा रकम रिलिज गर्यो र मृतकका परिवारलाई हस्तान्तरण गरियो।
“त्यो क्षणमा मलाई एक बीमा अभिकर्ता भएको नाताले अत्यन्तै खुसी लागेको थियो,” कटुवाल सम्झन्छन्, “उहाँ बितेर जानुभयो तर बीमाले उहाँको परिवारलाई आर्थिक रूपमा ठूलो सहयोग गर्यो।”
त्यस रकममध्ये मृतककी श्रीमतीले केही मात्र प्रयोग गरी बाँकी रकम फेरि बीमामै लगानी गरेको समेत उनले बताए।
बीमा सचेतना बढ्दो
कटुवालका अनुसार पछिल्ला वर्षहरूमा समुदायमा बीमाप्रतिको दृष्टिकोण सकारात्मक बन्दै गएको छ। “पहिले मानिससँग पैसा पनि कम हुन्थ्यो, चेतना पनि कम थियो,” उनी भन्छन्, “अहिले आर्थिक अवस्था सुधारिएको छ, सचेतना पनि बढेको छ।”
कोभिड महामारीको समयमा बीमाको महत्व बुझ्दा–बुझ्दै पनि धेरैले आर्थिक अवस्थाका कारण बीमा गर्न नसकेको अनुभव उनीसँग छ। तर अहिले अवस्था फेरिएको छ।
“पहिले १ लाख, २ लाख, ५ लाखसम्मको बीमा गराउँथ्यौँ,” उनी भन्छन्, “अहिले १० लाख, २० लाखदेखि ५० लाखसम्म, व्यवसायी साथीहरूले त ५० लाखदेखि करोडसम्मको बीमा पनि गराइरहनुभएको छ।”
बीमा अभिकर्ता बन्न चाहने युवाका लागि अभिकर्ता कटुवालको सन्देश
बीमा अभिकर्ता बन्न चाहने युवाका लागि कटुवाल प्रेरणाको स्रोत बन्न सक्छन्। उनले विविध क्षेत्रमा कार्यरत रहेर पनि अभिकर्ताको यात्रालाई निरन्तरता दिएका छन्।
“१० देखि ५ सम्मको जागिरले मात्रै आजको समयमा सहज जीवन सम्भव छैन,” उनी भन्छन्, “साँझ–बिहान फुर्सदको समय खेर फाल्नुभन्दा सीपमूलक काम सिकौँ।”
बीमा पार्ट टाइममै पनि राम्रो आम्दानी गर्न सकिने क्षेत्र भएको उनको अनुभव छ। “बीमामा एक पटक पोलिसी बिक्री गरेपछि नवीकरणमा पनि कमिसन आउँछ,” उनी भन्छन्, “यसको दीर्घकालीन भविष्य राम्रो छ।”

नयाँ अभिकर्ताले ग्राहकको आवश्यकता बुझेर, आर्थिक अवस्था विश्लेषण गरेर उपयुक्त प्रोडक्ट सिफारिस गर्नुपर्नेमा उनी जोड दिन्छन्। “ग्राहकको आवश्यकता र अवस्था बुझेर बीमा गराउन सके छोटो समयमै सफल अभिकर्ता बन्न सकिन्छ,” उनी भन्छन्।
बीमा गर्न अभिकर्ता कटुवालको आह्वान
बीमा बचत र आर्थिक सुरक्षाको अत्यन्तै महत्वपूर्ण आधार भएकाले दुर्घटना, असामयिक मृत्यु वा रिटायरमेन्टपछि बीमाले आर्थिक राहत र भविष्यको सुनिश्चितता गर्ने कुरामा अभिकर्ता कटुवाल जोड दिन्छन्।
हालै भएका विभिन्न आन्दोलन र घटनामा बीमा भएका भवन तथा व्यवसायले क्षति कभर गरेर निरन्तरता दिन सकेको उदाहरण दिँदै उनले भने, “बीमा नभएको भए जेन–जी आन्दोलनमा ठूलो क्षति बेहोरेका धेरै व्यवसाय बन्द हुने अवस्थामा पुग्थे। बचत, सुरक्षा र भविष्यका लागि बीमा अपरिहार्य छ। त्यसैले परिवार, समाज र व्यवसाय सबैका लागि बीमा आवश्यक छ।”
भोला कटुवालको यात्रा आईटी र बीमाजस्ता फरक–फरक क्षेत्रबीच सन्तुलन मिलाउँदै सफलता हासिल गर्न सकिने प्रेरणादायी उदाहरण हो। फुल टाइम पेशासँगै पार्ट टाइम रूपमा सुरु गरिएको उनको बीमा यात्राले निरन्तरता, समय व्यवस्थापन र इमानदार प्रयास भए उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।
बीमालाई केवल आम्दानीको स्रोत मात्र नभई सामाजिक सुरक्षा र भविष्यको सुनिश्चितता गर्ने माध्यमका रूपमा बुझ्दै कटुवालले बीमा क्षेत्रमा सकारात्मक प्रभाव छोडिरहेका छन्। उनको अनुभव र सफलताले बीमा क्षेत्रप्रति बढ्दो विश्वास झल्काउनुका साथै युवाहरूलाई पनि अतिरिक्त सीप र अवसरतर्फ अग्रसर हुन प्रेरित गरेको छ।







