काठमाडौँ । हेटौँडालाई कार्यक्षेत्र बनाएर बीमा व्यवसाय सुरु गरेका रामकुमार अधिकारी नेपालको जीवन बीमा क्षेत्रमा सर्वाधिक प्रतिष्ठित मानिने टीओटी (Top of the Table) उपाधि हासिल गर्ने थोरै अभिकर्तामध्ये एक हुन्।
शिक्षण पेसाबाट सुरु भएको उनको व्यावसायिक यात्रा आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) सँग पूर्ण रूपमा बीमा क्षेत्रमा समर्पित छ। रामकुमार अधिकारी सन् २०१५ मा एलआइसी नेपालमा आबद्ध भए । त्यसबेला उनी शिक्षण पेसामा समेत संलग्न थिए।
शिक्षण कार्यमै व्यस्त रहँदा सुरुवाती केही वर्ष उनले बीमालाई निरन्तर समय दिन सकेनन्। तर सन् २०१८ पछि भने उनले बीमालाई गम्भीरतापूर्वक लिन थाले र बचेको समय पूर्ण रूपमा बीमा व्यवसायमै लगाउन सुरु गरे।
उनको बीमा यात्रामा सबैभन्दा ठूलो प्रेरणाको स्रोत भने उनकी श्रीमती नै बनिन्। नर्सिङ पृष्ठभूमिकी उनकी श्रीमती सन् २००८ देखि नै एलआइसी नेपालमा कार्यरत थिइन्।
श्रीमतीको प्रेरणाले बीमा क्षेत्रमा सफल भएको बताउँदै अभिकर्ता अधिकारी भन्छन्, “श्रीमतीले निरन्तर सम्झाउँदै, बीमा क्षेत्रमा भविष्य छ गम्भीरतापूर्वक काम गरौँ भनेर प्रेरणा दिनुहुन्थ्यो। उहाँको कामबाट राम्रो आय आर्जन भइरहेको देखेपछि मलाई पनि बीमामा सम्भावना छ भन्ने लाग्न थाल्यो।”
शिक्षण पेसाले बनाएको सम्बन्ध बन्यो सफलताको आधार
शिक्षण पेसामा रहँदा बनेका सामाजिक सम्बन्ध, विद्यार्थी, अभिभावक, साथीभाइ र चिनजानका व्यक्तिहरू बीमा यात्राको पहिलो आधार बनको अभिकर्ता अधिकारी सम्झन्छन्।
उनले भने, “शिक्षण पेसाले धेरै मानिससँग जोडिने अवसर दिएको रहेछ, त्यसको फाइदा बीमामा पनि भयो। सुरुवाती दिनमा विद्यार्थी, अभिभावक, साथीभाइ र चिनजानका व्यक्तिहरूकोमा बीमा प्रस्ताव लिएर गए।”
रामकुमारले सुरुवाती दिनहरुमै राम्रो साथ पाए र उनी छोटो समयमै टीओटी उपाधी हासिल गर्न सफल भए। सक्रिय रूपमा काम सुरु गरेलगत्तै उनले बीमा क्षेत्रको सर्वाधिक उच्च तह मानिने टीओटी उपाधि हासिल त गरेका थिए, अब उनको चुनौती थियो त्यो तहमा टिकिरहनु ।

उनी भन्छन्, “उच्च तहमा पुग्नु जति गाह्रो छ, त्यही स्थान कायम राख्नु झनै चुनौतीपूर्ण हुन्छ।” एकपटक टीओटी हासिल गरेपछि त्यसलाई निरन्तरता दिन उनले झनै कडा मेहनत गर्नुपर्यो । उनी अफिस समयपछि सम्पूर्ण समय बीमालाई नै दिन्थे । उनले आराम गर्ने, अल्झिने मौका नै पाएनन्।
यही निरन्तरताको परिणामस्वरूप आजसम्म पनि उनले टीओटी उपाधि कायम राखेका छन्। पछिल्लो ३–४ वर्षदेखि उनले शिक्षण पेसालाई पूर्ण रूपमा त्यागेर बीमालाई नै जीवनको मुख्य पेशा समेत बनाएका छन्।
‘अभिकर्ता हुनु सामाजिक कार्य पनि हो’
रामकुमार अधिकारी बीमालाई केवल आम्दानीको स्रोत मात्र मान्दैनन्। उनका लागि अभिकर्ता हुनु भनेको सामाजिक जिम्मेवारी पनि हो।
“हामीले मानिसलाई बीमित बनाउँदा केवल पोलिसी बेचिरहेका हुँदैनौँ, उनीहरूको परिवारलाई भविष्यको जोखिमबाट सुरक्षित गरिरहेका हुन्छौँ। त्यसैले बीमा सामाजिक कार्य पनि हो।” उनी भन्छन्।
सुरुमा मानिसलाई बीमाको महत्व बुझाउन गाह्रो भएपनि जब जीवनमा संकट आउँछ, तब बीमाको वास्तविक अर्थ बुझिने गरेको अनुभव उनले सुनाए । यही सन्दर्भमा उनले मकवानपुरको थाहा नगरपालिकाको एउटा घटना स्मरण गर्छन्।
”एक पटक थाहा नगरपालिकाका एक जना व्यक्तिलाई निकै समय लगाएर बीमा गराएको थिएँ। उहाँ खासै इच्छुक हुनुहुन्नथ्यो तर पनि मैले उहाँलाई बीमाको महत्व बुझाउँदै बीमा गराएको थियो । दुर्भाग्य भनौँ बीमा गराएको दुई वर्ष नपुग्दै उहाँको निधन भयो। बीमा दाबी रकम हस्तान्तरण गर्दा परिवारले ‘त्यो बेला करकाप जस्तो लागेको थियो, आज बीमाको महत्व बुझ्यौँ’ भन्दै धन्यवाद दिनुभयो।” अधिकारी भावुक हुँदै सुनाउँछन्।

उनले बीमा धनीभन्दा पनि आर्थिक रूपमा कमजोर वर्गका लागि अझ बढी आवश्यक रहेको बताए । उनले भने, “धनीसँग विकल्प हुन्छन्, तर गरिबका लागि विपत्तिको बेला बीमाले मात्रै आर्थिक सुरक्षा दिन सक्छ।”
बीमाले दिएको सम्मान
हाल काठमाडौँमा बसोबास गर्दै आएका अधिकारी एलआइसी नेपालमै पूर्ण रूपमा केन्द्रित छन्। सन् २०२६ को टीओटी उपाधि हासिल गरेबापत हालै सम्पन्न एलआइसी नेपालको वार्षिक साधारण सभामा उनलाई सम्मानसमेत गरिएको छ।
नेपालमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये टीओटी उपाधि हासिल गर्ने देशभरबाट जम्मा ७ जना मात्र रहेको र तीमध्ये आफू एक हुनु गर्वको विषय भएको उनी बताउँछन्।
एलआइसी नेपालको २४ औँ वार्षिक साधारण सभा सम्पन्न( भिडियो सहित )
यस वर्ष एलआइसी नेपालबाट मात्रै तीन जनाले यो उपाधि प्राप्त गरेका छन्।
‘बीमा जबरजस्ती होइन आवश्यकता बुझाएर गर्नुपर्छ’
पछिल्लो समय प्रविधिको विकास र बीमा सचेतना बढेसँगै बीमा गराउन सहज हुँदै गएको अधिकारीको भनाइ छ । उनी भन्छन्, “मानिसलाई जबर्जस्ती बीमा गर भन्नु हुँदैन। उनीहरूको आवश्यकता बुझेर, सोहीअनुसार योजना सिफारिस गर्नुपर्छ।”
अभिकर्ता अधिकारीको सन्देश
अन्त्यमा उनी शिक्षित युवाहरु लाई सन्देश दिँदै बीमा क्षेत्रमा राम्रो भविष्य रहेको बताउछन् । “देशमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ। बीमा क्षेत्रमा अथाह सम्भावना छ। दक्ष र प्रविधिमा निपुण युवाको प्रवेशले यो क्षेत्र अझ बलियो बन्छ। त्यसैले म रोजगारीको खोजीमा विदेश जानुभन्दा अभिकर्ता बन्न युवाहरुलाई आग्रह गर्न चाहन्छुँ।”
नयाँ प्रविधिमा निपुण जनशक्तीको प्रवेशले बीमा क्षेत्रको पनि विकास हुने,बीमा सचेतना पनि बढ्ने र धेरै भन्दा भन्दा धेरै मानिसहरुलाई आर्थिक सुरक्षा प्रदान गरी सामाजिक सेवा समेत गर्न सकिने उनको भनाई छ।







