काठमाडौं । निर्जीवन बीमकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउनदेखि पुससम्म) उल्लेख्य व्यवसाय विस्तार गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा २३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बीमा व्यापार गरेका छन्।

प्राधिकरणका अनुसार चालु आवको पहिलो छ महिनामा १४ वटा निर्जीवन बीमकले १४ लाख १९ हजार ५४८ वटा बीमालेख जारी गर्दै कुल २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ वटा बीमालेखमार्फत २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यस आधारमा समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय १३.३७ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको तुलनामा चालु वर्षको पुससम्म १४ मध्ये १३ वटा निर्जीवन बीमकको व्यवसाय वृद्धि भएको छ भने एउटा बीमकको व्यापार घटेको छ। कुल व्यापारको आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहँदा व्यापार वृद्धिको दरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स अगाडि देखिएको छ।

अग्रस्थानमा शिखर र सगरमाथा लुम्बिनी

चालु आर्थिक वर्षको पुससम्म शिखर इन्स्योरेन्सले सबैभन्दा बढी २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५९ करोड २ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो। यससँगै शिखर इन्स्योरेन्सको व्यापार ७.१९ प्रतिशतले बढेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो धेरै व्यापार गर्ने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.३४ प्रतिशत बढी हो।

हिमालयन एभरेष्टको उल्लेख्य सुधार

तेस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आवको पुससम्म २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीको बीमाशुल्क १ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ मात्र थियो। यस आधारमा कम्पनीको व्यापार ४५.०७ प्रतिशतले वृद्धि भएको छ, जुन समीक्षा अवधिमा सबैभन्दा उच्च वृद्धि हो।

यस अवधिमा सिद्धार्थ प्रिमियर एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड ६५ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड ८० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यी कम्पनीहरूको व्यापार क्रमशः २.७३ प्रतिशत, १९.०५ प्रतिशत, ३३.५५ प्रतिशत र ८.२७ प्रतिशतले वृद्धि भएको छ।

अन्य कम्पनीहरूको अवस्था

चालु वर्षको पुससम्म युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड २२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा युनाइटेड अजोडको २७.२९ प्रतिशत, ओरिएन्टलको ११.५७ प्रतिशत र सानिमा जीआईसीको १९.७१ प्रतिशतले व्यापार बढेको छ।

यसैगरी नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेसनल इन्स्योरेन्सको व्यापार क्रमशः ८.०५ प्रतिशत, ३.६९ प्रतिशत र १२.४४ प्रतिशतले बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको व्यापार २०.३४ प्रतिशतले घटेको छ।

                                                                            तालिकामा हेर्नुहोस्