काठमाडौँ। चालु आर्थिक वर्षको वैशाख महिना मात्रै जीवन बीमा कम्पनीहरूले १३ अर्ब ३१ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
बीमा कम्पनीहरूले वैशाख महिनामा अर्जन गरेको बीमा शुल्कमध्ये १३ अर्ब १८ करोड ६४ लाख रुपैयाँ जीवन बीमा कमपनहरूको हो भने १२ अर्ब ६९ करोड रुपैयाँ माइक्रो जीवन बीमा कम्पनीले आर्जन गरेको व्यवसाय हो ।
जीवन बीमा कम्पनीहरूले वैशाख महिनामा ९ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ बीमा पोलिसी नवीकरणमार्फत व्यवसाय गरेका हुन् । सो महिनामा ३ अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन भएको हो ।
चालु आवको वैशाख महिनामा पनि सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले व्यवसाय गरेको छ । कम्पनीले उक्त महिनामा ३ अर्ब ५७ करोड २४ लाख रुपैयाँको व्यवसाय गरेको हो ।
त्यस्तै, १ अर्ब ५६ करोड रुपैयाँको व्यवसाय सहित नेशनल इन्स्योरेन्सले दोस्रोमा स्थानमा रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बढी बीमा व्यवसाय गर्ने तेस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । कम्पनीले वैशाख महिना मात्रै १ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ बराबरको पोलिसी बिक्री गरेको छ ।
त्यस्तै, वैशाख महिनामा हिमालयन लाइफ इन्स्योरेन्सले १ अर्ब १९ करोड ६९ लाख रुपैयाँ, सूर्य ज्योति लाइफले ८७ करोड २३ लाख रुपैयाँ , सिटिजन लाइफले ५९ करोड ३३ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५० करोड ८० लाख रुपैयाँको व्यवसाय गरेको छ ।
बीमा प्राधिकरणको तालिका अनुसार वैशाख महिनामा रिलायबल लाइफले ४५ करोड ६७ लाख, प्रभु महालक्ष्मी लाइफले ४२ करोड ६८लाख रुपैयाँ, एशियन लाइफले ६७ करोड ६३ लाख रुपैयाँ र मेट लाइफले ५४ करोड २९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
वैशाख महिनामा सानिमा रिलायन्सले ४९ करोड १२ लाख, लाइएमई लाइफले ४१ करोड ७८ लाख, सन नेपाल लाइफले ३३ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले उल्लेख गरेको छ । यता, जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन गत वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ।
गत वर्षको २४ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २९ अर्ब ९३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।








