काठमाडौं । जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफा ४.७३ प्रतिशतले गिरावट आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म उक्त गिरावट आएको हो । सार्वजनिक वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले समीक्षा अवधिमा कुल ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ थियो ।

यद्यपि कम्पनीगत प्रदर्शनमा उल्लेखनीय भिन्नता देखिएको छ । नाफाको परिमाणका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ भने वृद्धिदरका हिसाबले एलआइसी नेपाल सबैभन्दा अगाडि देखिएको छ । अभिकर्ता सञ्जाल विस्तार, व्यवसाय विविधीकरण र व्यवस्थापन सुधारका प्रयासले अधिकांश कम्पनीको वित्तीय नतिजामा सकारात्मक प्रभाव पारेको  आकलन गर्न सकिन्छ ।

यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै पहिलो स्थान हासिल गरेको छ । यसको नाफा गत वर्षको तुलनामा १२.९८ प्रतिशतले बढेको हो । नेपाल लाइफ इन्स्योरेन्स ३३ करोड ९६ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ । तर यसको नाफा २७.४५ प्रतिशतले घटेको छ, जसले समग्र वृद्धिदरमा केही दबाब सिर्जना गरेको देखिन्छ । नेशनल लाइफ इन्स्योरेन्स २८ करोड ६८ लाख रुपैयाँ (२.७६ प्रतिशत वृद्धि)सहित तेस्रो स्थानमा रहेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले २८ करोड ५४ लाख रुपैयाँ (१.११ प्रतिशत वृद्धि), सानिमा रिलायन्स लाइफले २७ करोड ६१ लाख रुपैयाँ (१९.२१ प्रतिशत वृद्धि) तथा आइएमई लाइफले २७ करोड ६ लाख रुपैयाँ (१.०४ प्रतिशत वृद्धि) खुद नाफा आर्जन गरेका छन् । एशियन लाइफ (२६ करोड ३५ लाख), सिटिजन लाइफ (२३ करोड १५ लाख), एलआइसी नेपाल (२२ करोड ४५ लाख) र हिमालयन लाइफ (२० करोड ६७ लाख) पनि उल्लेख्य नाफासहित अगाडि रहेका छन् ।

यसैगरी मेट लाइफ नेपालले २० करोड ३५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २० करोड १८ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १३ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले भने ३८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।

खुद नाफाको वृद्धिदरका आधारमा एलआइसी नेपाल ५८.३६ प्रतिशत वृद्धिसहित सबैभन्दा अगाडि देखिएको छ । सानिमा रिलायन्स लाइफ १९.२१ प्रतिशत र रिलायबल नेपाल लाइफ १२.९८ प्रतिशत वृद्धिसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । समग्रमा १४ कम्पनीमध्ये १० कम्पनीले नाफा वृद्धि गर्न सफल भएका छन् भने चार कम्पनीको नाफा सामान्य रूपमा घटेको छ ।

कुल खुद नाफा

पुस २०८२ सम्म: ३३,२३,३८५ हजार रुपैयाँ

पुस २०८१ सम्म: ३४,८८,२१८ हजार रुपैयाँ

समग्र परिवर्तन वा अन्तर: -४.७३%