काठमाडौं । जीवन बीमा कम्पनीहरूमा बीमा पोलिसी सरेण्डर गर्ने दरमा कमी देखिएको छ। नेपाल बीमा प्राधिकरणका तथ्यांकअनुसार, चालु आवको ७ महिनासम्म जीवन बीमा पोलिसी सरेण्डर रकम १९ प्रतिशतले घटेर ६ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा सरेण्डर रकम ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ थियो।

प्राधिकरणका अनुसार माघ मसान्तसम्म कुल ५९,६७२ वटा पोलिसी त्यागिएका छन्, जुन गत आवको तुलनामा ४.५६ प्रतिशत कम हो। गत आवको सोही अवधिमा ६२,५२३ वटा पोलिसी त्यागिएका थिए।

पछिल्लो समय सरेण्डर गर्ने पोलिसीको संख्या घटेपछि बीमा कम्पनीहरू मार्फत बाहिरिने रकम नियन्त्रणमा आइरहेको  छ। यसैबीच, बीमा प्राधिकरणले सरेण्डर दर कम गर्न विभिन्न पहलहरू गर्दै आएको छ।

तर, पोलिसी सरेण्डरको संख्या र रकम घट्दा पनि नविकरण नभएका पोलिसी रकम भने बढ्दै गएको छ। चालु आवको ७ महिनासम्म नविकरण नभएका पोलिसीको कुल रकम ३७ अर्ब ७० करोड ८२ लाख रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २.९७ प्रतिशतले बढी हो। गत आवको माघ मसान्तसम्म यस्तो रकम ३६ अर्ब ६२ करोड ६ लाख रुपैयाँ थियो।

प्राधिकरणका अनुसार माघ मसान्तसम्म १२ लाख २६ हजार २७५ वटा पोलिसी नविकरण हुन बाँकी छन्। यो संख्या गत आवको तुलनामा सामान्य रूपमा घटेको देखिन्छ, किनभने गत आवको सोही अवधिमा नविकरण नभएका पोलिसीको संख्या १२ लाख ३४ हजार ९८३ थियो।