काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना अर्थात् कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूले बीमालेख नवीकरणमार्फत करिब साढे ४९ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले समीक्षा अवधिमा ४९ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका हुन्।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ नवीकरण प्रिमियम सङ्कलन भएकाले यस वर्ष नवीकरण बीमा शुल्क संकलनमा १५.९५ प्रतिशतले वृद्धि भएको देखिन्छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष कात्तिकसम्म सबै जीवन बीमा कम्पनीहरूको नवीकरण प्रिमियम संकलन बढेको छ। नवीकरण बीमा शुल्क संकलनमा नेपाल लाइफ अग्रस्थानमा रहेकामा वृद्धिदरका दृष्टिले राष्ट्रिय जीवन बीमा कम्पनी शीर्ष स्थानमा रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ।

यस वर्ष कात्तिकसम्म नेपाल लाइफले १३ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ नवीकरण बीमा शुल्क सङ्कलन गरेको छ, जुन अघिल्लो वर्षको १२ अर्ब ७६ करोड रुपैयाँभन्दा ४.५ प्रतिशतले बढी हो। दोस्रो सबैभन्दा धेरै नवीकरण बीमाशुल्क संकलन गर्नेमा नेशनल लाइफ रहेको छ, जसले कात्तिक मसान्तसम्म ५ अर्ब ५८ करोड ६३ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ। अघिल्लो वर्ष ४ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ सङ्कलन गरेको यस कम्पनीको नवीकरण बीमाशुल्क १४.१६ प्रतिशतले बढेको छ। तेस्रो स्थानमा रहेर एलआईसी नेपालले अघिल्लो वर्षको ५ अर्ब ३१ करोड ४६ लाख रुपैयाँभन्दा ४.१८ प्रतिशत वृद्धि हुँदै यस वर्ष ५ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ नवीकरण प्रिमियम सङ्कलन गरेको छ।

यसैगरी, हिमालयन लाइफले समीक्षा अवधिसम्म ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क सङ्कलन गरेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ७९ करोड २७ लाख रुपैयाँभन्दा ३.४७ प्रतिशतले वृद्धि भएको हो। सोही अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ सङ्कलन गरेको छ भने सूर्यज्योति लाइफले २ अर्ब ८० करोड ९६ लाख, एसियन लाइफले २ अर्ब ३६ करोड ६६ लाख, सिटिजन्स लाइफले १ अर्ब ९२ करोड २९ लाख र सानिमा रिलायन्स लाइफले १ अर्ब ७३ करोड ४२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनीको नवीकरण प्रिमियम २३८.३१ प्रतिशत, सूर्यज्योति लाइफको १४.५२ प्रतिशत, एसियन लाइफको ६.९१ प्रतिशत, सिटिजन्स लाइफको २१.७२ प्रतिशत तथा सानिमा रिलायन्स लाइफको १२.८७ प्रतिशतले वृद्धि भएको छ।

यस्तै, समीक्षा अवधिसम्म मेटलाइफले १ अर्ब ६२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३७ करोड ७० लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब १ करोड २१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क सङ्कलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा मेटलाइफको १०.६८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ११.५५ प्रतिशत, आइएमई लाइफको २०.६३ प्रतिशत, रिलायबल नेपाल लाइफको २०.०१ प्रतिशत र सन नेपाल लाइफको १६.९६ प्रतिशतले नवीकरण बीमा शुल्क वृद्धि भएको छ।