काठमाडौं। काठमाडौंको वायु प्रदूषण गम्भीर स्तरमा पुगेको छ। आज उपत्यकामा वायुको गुणस्तर अत्यन्तै खराब भई स्वास्थ्यका लागि जोखिमपूर्ण बनेको छ।
स्विट्जरल्याण्डस्थित रियल–टाइम वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार आज बिहान एक्युआई २४७ सम्म पुगेको थियो। समाचार तयार पार्दासम्म यो सूचक घटेर २१६ मा झरेको छ। एक्युआई २०१ देखि ३०० को बीचलाई अत्यन्त अस्वस्थ मानिन्छ ।
हाल नेपाल विश्वकै सबैभन्दा बढी प्रदूषित देशहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान पहिलो स्थानमा छ । काठमाडौं उपत्यकामा अहिले बाक्लो धुवाँ र तुवाँलो देखिएको छ।
सरकारले निर्धारण गरेको वायु गुणस्तर सूचकांक अनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० अत्यन्त अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक स्तर मानिन्छ ।







